१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

राष्ट्र बैंकद्वारा हुण्डीसम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन सार्वजनिक, युवा र रेमिट्यान्स एजेन्ट बढी संलग्न

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । नेपालमा अवैध हुण्डी कारोबारको स्वरूप बदलिँदै गएको पाइएको छ। परम्परागत रूपमा नगद ओसारपसार र आपसी हिसाब मिलानमार्फत हुँदै आएको हुण्डी कारोबारमा पछिल्लो समय क्रिप्टोकरेन्सी, डिजिटल प्रविधि र औपचारिक बैंकिङ प्रणालीकै दुरुपयोग हुन थालेको देखिएको छ।

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइले नोभेम्बर २०२६ मा सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन, २०२६ (हुण्डी)’ ले नेपालको अर्थतन्त्र र बैंकिङ प्रणालीभित्र भित्रभित्रै मौलाइरहेको हुण्डीको भयावह र कहालीलाग्दो तस्बिर बाहिर ल्याएको हो ।

प्रतिवेदनअनुसार नेपालमा हुण्डी कारोबारका लागि बैंक खाता दुरुपयोग गर्ने, नगद कारोबारको सीमा छल्न रकम टुक्र्याएर जम्मा गर्ने, कानुनी व्यक्तिको प्रयोग गर्ने, क्रिप्टोकरेन्सीमार्फत कारोबार गर्ने र डिजिटल प्रविधि प्रयोग गर्नेजस्ता विधि अपनाइएको पाइएको छ।  यस्तो कारोबारमा २५ देखि ४४ वर्ष उमेर समूहका व्यक्ति, खुद्रा व्यापारी र विप्रेषण कारोबारका उपएजेन्ट बढी जोडिएको नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको प्रतिवेदनले देखाएको छ ।

सरकारले २०८१ पुस १८ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी हुण्डीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गतको सम्बद्ध कसुरका रूपमा सूचीकृत गरेको थियो । त्यसयता १६ जुलाई २०२६ सम्मको करिब १८ महिनाको अवधिमा वित्तीय जानकारी एकाइमा विभिन्न कसुरसँग सम्बन्धित कुल १५ हजार ८१५ वटा शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन दर्ता भएका छन् ।

ती कुल उजुरीमध्ये १०.५७ प्रतिशत अर्थात् १ हजार ६७२ वटा प्रतिवेदन सिधै हुण्डी कारोबारसँग सम्बन्धित छन् । हुण्डीसम्बन्धी उजुरीमध्ये झण्डै ९० प्रतिशत (८९.८९ प्रतिशत अर्थात् १,५०३ वटा) उजुरी मुलुकका प्रमुख ‘क’ वर्गका वाणिज्य बैंकहरूबाटै आएका छन् ।

बाँकी उजुरीमध्ये ७.१८ प्रतिशत विकास बैंक, १.६७ प्रतिशत वित्त कम्पनी, ०.७८ प्रतिशत रेमिट्यान्स कम्पनी र ०.४८ प्रतिशत भुक्तानी सेवा प्रदायक तथा सञ्चालकबाट प्राप्त भएका हुन् । एकाइले नमुनाका रूपमा विश्लेषण गरेका २०० वटा उजुरीमध्ये करिब ४० प्रतिशत बैंक खाता खोलिएको एक वर्षभित्रै शंकास्पद कारोबारमा मुछिएका छन्, जसमध्ये ९.५ प्रतिशत खाता त खोलिएको तीन महिनाभित्रै शंकाको घेरामा परेका थिए । समग्रमा तीन चौथाइभन्दा बढी खाता सन् २०२२ यता खोलिएका पाइएको छ, जसले हुण्डी कारोबारकै लागि योजनाबद्ध रूपमा ‘भाडाका खाता’ अर्थात् म्युल अकाउन्ट खोलिने गरेको प्रस्ट पार्छ ।

प्रतिवेदन अनुसार नेपालमा हुण्डी कारोबारका लागि अरूको बैंक खाता प्रयोग गर्ने अर्थात् ‘म्युल एकाउन्ट’ को प्रयोग गर्ने, नगदको सीमा छल्न रकम टुक्र्याएर जम्मा गर्ने र कानूनी व्यक्तिको आवरण प्रयोग गर्ने प्रवृत्ति देखिएको छ। त्यसैगरी, क्रिप्टोकरेन्सीको प्रयोग, नगद नै ओसारपसार गरी भुक्तानी दिने, विप्रेषण कारोबार गर्ने सब-एजेण्टको प्रयोग गर्ने तथा विभिन्न डिजिटल प्रविधिहरूको प्रयोग बढ्दो क्रममा रहेको प्रतिवेदनमा औंल्याइएको छ।

हुण्डी कारोबारको फर्छ्यौट पहिले ‘बाइल्याटरल अफसेटिङ’ तथा ‘सेटलमेन्ट थ्रु भ्यालु’ मार्फत हुने गरेकोमा पछिल्लो समय औपचारिक ‘फर्मल बैंक-बेस्ड च्यानल्स’ तथा ‘डिजिटल-बेस्ड च्यानल’ मार्फत हुने क्रम बढेको देखिएको छ।

प्रकाशित मिति : November 27, 2026 at 6:02 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/