नेप्सेले मार्जिन कारोबारको विवरण दैनिक सार्वजनिक गर्ने
११ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार सुविधाअन्तर्गत भएका कारोबारको विवरण दैनिक रूपमा सार्वजनिक गर्ने भएको छ। नेप्सेले मार्जिन कारोबार सुविधा उपलब्ध गराउने ब्रोकर कम्पनीहरूलाई कारोबारको विवरण निर्धारित ढाँचामा नियमित रूपमा बुझाउन निर्देशन दिएको हो।
नेप्सेद्वारा जारी सूचनाअनुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०८२ को परिच्छेद–८ को दफा २१ को सूचनासम्प्रेषण सम्बन्धी व्यवस्थाबमोजिम यस्तो व्यवस्था लागू गरिएको हो। उक्त व्यवस्थाअनुसार कारोबार सदस्यहरूले मार्जिन कारोबार सुविधाअन्तर्गत भएका कारोबारको विवरण अनुसूची–४ बमोजिमको ढाँचामा कारोबार भएको अर्को कारोबार दिनको मध्याह्न १२ बजेसम्म नेप्सेलाई उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै, नेप्सेले प्राप्त विवरणलाई अनुसूची–५ बमोजिमको ढाँचामा अर्को कारोबार दिनसम्म आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था रहेको जनाएको छ। नेप्सेका अनुसार कारोबार सदस्यहरूले उपलब्ध गराउने विवरणको एकीकृत प्रतिवेदन नेप्सेको वेबसाइटमार्फत सम्प्रेषण गर्ने व्यवस्था मिलाइएको छ। यससँगै आगामी सातादेखि कारोबार सदस्यहरूले मार्जिन कारोबार सुविधाअन्तर्गत भएका कारोबारको एकीकृत विवरण नेप्सेको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्नेछन्। मार्जिन कारोबारसम्बन्धी सूचनाको प्रवाहलाई थप सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको नेप्सेले स्पष्ट पारेको छ।
प्रकाशित मिति : November 27, 2026 at 4:54 pm















