आजदेखि बानेश्वरसहित काठमाडौंका विभिन्न क्षेत्रमा दैनिक पाँच घण्टा बिजुली बन्द हुने
१२ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् प्रणालीको काम गर्नुपर्ने भएपछि चार दिनसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको बानेश्वर वितरण केन्द्रले सूचना जारी गर्दै मंसिर १२ गतेदेखि १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो।
काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत वितरण प्रणाली भूमिगत गर्ने क्रममा ‘स्ट्रक्चर फिटिङ’, एचटी/एलटी केबल राइजिङ, केबल कनेक्सन, बसबार एरेन्जमेन्ट तथा केबल चार्जिङको काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार मंसिर १२ गते शनिबार केएमसी, पुरानो विमानस्थल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। त्यस दिन आलोकनगर मार्ग, आलोक मध्य मार्ग, आलोक तारा मार्ग, सावित्री मार्ग तथा नापी विभाग आसपासका क्षेत्रमा स्ट्रक्चर फिटिङ र एचटी केबल राइजिङको काम हुनेछ।
त्यस्तै मंसिर १३ गते आइतबार पुरानो विमानस्थल क्षेत्रमा बसबार एरेन्जमेन्ट र एचटी केबल चार्जिङको काम हुनेछ। त्यसका लागि शंखमूल मार्ग, एभरेस्ट अस्पताल क्षेत्र, मुक्ति टावर क्षेत्र तथा थ्री ब्रदर्स पेट्रोल पम्प आसपास विद्युत् आपूर्ति बन्द गरिनेछ।

मंसिर १४ गते सोमबार शंखमूल र धोबीखोला क्षेत्रमा एचटी केबल राइजिङ तथा बसबार एरेन्जमेन्टको काम हुनेछ। त्यस क्रममा अल्फाबेटा, बुद्धनगर तथा बिजुली बजार क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ।
यसैगरी मंसिर १५ गते मंगलबार केएमसी क्षेत्रमा स्ट्रक्चर फिटिङ तथा एचटी केबल राइजिङको काम गरिनेछ। त्यस दिन वडा नम्बर ३१ को वडा कार्यालय क्षेत्र तथा तीनकुने सरकारी बजार आसपास विद्युत् आपूर्ति बन्द हुनेछ।
प्राधिकरणले निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति सुचारु गरिने जनाएको छ। विद्युत् आपूर्ति बन्द हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै सहयोगका लागि अनुरोध गरेको छ।
प्रकाशित मिति : November 28, 2026 at 7:53 am














