१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

बाढीले परिवार खोस्यो, राज्यले भरोसा : पाँच आफन्त गुमाएका प्रकाश जोशीको पीडा

https://www.muktinathbank.com.np/online/loan-application

९ मंसिर, काठमाडौं । लेहेन्दे हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीमा परिवारका पाँच सदस्य गुमाएका प्रकाश जोशीले बाढीको तीन महिना बितिसक्दा पनि पीडितका पक्षमा राज्यको प्रभावकारी उपस्थिति नदेखिएको भन्दै गम्भीर प्रश्न उठाएका छन्।

बाढी आएको तीन महिना पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गर्दै जोशीले पुनर्बास, पुनर्स्थापना, राहत र क्षतिपूर्तिका आश्वासन कागज र भाषणमै सीमित भएको गुनासो गरेका छन्।

‘तीन महिना कुनै ठूलो समय होइन, तर जसले आफ्नो घर, परिवार, सम्पत्ति, वर्षौँको मेहनत र जीवनभरका सपना एकै क्षणमा गुमाएका छन्, उनीहरूका लागि यी तीन महिना एउटा युगजस्तै भएका छन्,’ उनले लेखेका छन्।

बाढीपछि विभिन्न तहका सरकारका प्रतिनिधिहरू पीडित क्षेत्रमा पुगेको, निरीक्षण तथा छलफल गरेको र पुनर्स्थापनाका योजना तथा राहतका प्रतिबद्धता सार्वजनिक गरेको भए पनि तीन महिनामा पीडितले वास्तवमै के पाए? भन्ने प्रश्नको जवाफ अझै नपाएको जोशीको भनाइ छ।

उनले राज्यका तीनै तहबीच प्रभावकारी समन्वय र जिम्मेवारीबोधको अभाव देखिएको टिप्पणी गरेका छन्। पीडितका लागि केन्द्र, प्रदेश वा स्थानीय तहमा कुन दलको सरकार छ भन्नेभन्दा पनि आफूले गुमाएको जीवन र भविष्य पुनःनिर्माण गर्न राज्यले के गर्‍यो भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाइ छ।

‘बाढीले घर बगाउँदा कसैको पार्टी सोधेन, परिवार छुट्याउँदा राजनीतिक आस्था हेरेन, सम्पत्ति नष्ट गर्दा झण्डाको रङ पहिचान गरेन,’ जोशीले लेखेका छन्, ‘तर विपत्तिपछिको व्यवहारमा हामी किन विभाजित भयौँ?’

राज्यको स्रोत सीमित रहेको आफूहरूले बुझेको उल्लेख गर्दै उनले पीडितले चमत्कार वा असम्भव अपेक्षा नगरेको बताएका छन्। तर राज्यले आफ्नो क्षमताभित्र रहेर गर्न सक्ने सामान्य कामसमेत प्रक्रिया, बहाना र तहगत झमेलामा अल्झिएको उनको आरोप छ।

उनका अनुसार पीडितलाई सरकारी प्रचार होइन, परिणाम चाहिएको छ। भाषण होइन, व्यवहार चाहिएको छ। आश्वासनको अर्को सूची होइन, जीवन फेरि सुरु गर्न सक्ने आधार चाहिएको छ।

जोशीले पुनर्स्थापना भनेको केवल घर बनाइदिनु नभई विपत्तिमा उजाडिएको जीवन पुनः सुरु गर्ने अवसर भएको बताएका छन्। परिवारका सदस्य गुमाएका पीडितका लागि राहत रकमभन्दा पनि राज्य आफूहरूको साथमा छ भन्ने अनुभूति महत्वपूर्ण रहेको उनको भनाइ छ।

तर तीन महिना बितिसक्दा पनि राज्यको बाटो हेरेर बसेका पीडितलाई उनले अब धेरै आशा नराख्न आग्रह गरेका छन्।

‘अब कसैसँग धेरै आशा नराख्नुहोस्,’ जोशीले भनेका छन्, ‘यो निराशा फैलाउने उद्देश्यले भनेको होइन। बरु बारम्बारको आश्वासन, प्रतीक्षा र निराशाले थप मानसिक पीडा नहोस् भन्ने मेरो चाहना हो।’

उनले पीडितहरूलाई सम्भव भएसम्म आफ्नो जीवन आफैँ सम्हाल्ने साहस जुटाउन आग्रह गरेका छन्। ‘प्रकृतिले हाम्रो घर भत्कायो, तर राज्यको व्यवहारले हाम्रो भरोसा पनि कमजोर बनाउँदै लग्यो,’ जोशीले लेखेका छन्।

उनले विपत्तिको समयमा राज्यको वास्तविक उपस्थिति भाषण, भ्रमण र सामाजिक सञ्जालका प्रचारमा नभई नागरिकको पीडामा कति साथ दिन सक्यो भन्ने कुराबाट देखिने बताएका छन्।

राज्यका तीनै तहका सरकार, राजनीतिक दल र जिम्मेवार निकायलाई समयमै गम्भीर बन्न आग्रह गर्दै जोशीले भनेका छन्—‘विपत्ति कुनै पार्टीको हुँदैन, पीडा कुनै झण्डाको हुँदैन र नागरिकको आँसुमा राजनीतिक रङ हुँदैन।’

घर र सम्पत्ति पुनः बनाउन सकिने भए पनि राज्यप्रतिको गुमेको भरोसा फर्काउन कठिन हुने उनको निष्कर्ष छ।

‘हामीलाई सहानुभूतिको शब्दभन्दा जिम्मेवारीको व्यवहार चाहिएको थियो। आश्वासनभन्दा कार्यान्वयन चाहिएको थियो। र सबैभन्दा ठूलो कुरा, यो दुःखमा हामी एक्ला छैनौँ भन्ने अनुभूति चाहिएको थियो,’ उनले लेखेका छन्।

तीन महिना बितिसक्दा पनि त्यो अनुभूति नपाउनु नै आफ्नो सबैभन्दा ठूलो पीडा भएको जोशीको भनाइ छ।

प्रकाशित मिति : November 25, 2026 at 9:41 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/