वडाध्यक्ष उम्मेदवारमा आवेदन नपरेपछि रविको कटाक्षः अब मै आउँला चुनाव लड्न
२० कात्तिक, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थानीय तहको उम्मेदवार क्लबमा वडाध्यक्ष र सदस्यमा उम्मेदवार न्यून परेपछि चिन्ता व्यक्त गरेका छन् । रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका र असोज २८ गतेदेखि नगरपालिकामा उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको थियो ।
हालसम्म प्राप्त आवेदनमा मुख्यतः नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष उम्मेदवारका लागि छ । वडाध्यक्ष र सदस्यको उम्मेदवारका लागि सोचे अनुसार आवेदन नपरेपछि सभापति लामिछानेले चिन्ता व्यक्त गरेका हुन् ।

उनले भने, ‘हाम्रा मान्छे वडाध्यक्ष हेर्दैनन् है! एकैचोटि पालिका हेर्ने हो, माथि हेर्ने हो, तल हेर्दैनन् हाम्रा साथीहरू। यहाँ वडाध्यक्ष हुन मन छैन कसैलाई ।’ अब राजीनामा दिएर वडाध्यक्ष लड्न आफै आउने भन्दै उनले व्यंग्य गरे । ‘मै आउँला अब राजीनामा दिएर चुनाव लड्न । तपाईंहरू त धेरै ठूलो हुन थाल्नुभयो । वडाध्यक्षमा आवेदन दिएको मैल देखिनँ’, लामिछानेले भने ।
उनले नेता–कार्यकर्ताहरूलाई दुई तिहाइको घमन्ड नदेखाउन चेतावनी दिए । हामीलाई जनताले १८२ सिट दिएर पठाएको छ । हामी मात्तिएका छौँ । कसैलाई नगन्ने गरी घमन्ड देखाउन थालेका छौँ । हामीले भुईं टेक्नुपर्छ । भुईं छोड्न हुँदैन साथीहरू हो’, उनले भने– ‘जनताले दिएको अभिमत जनताको हुर्मत लिनको लागि दुरुपयोग नगर्नुहोला । हामीलाई हेरिराखेका छन् । हामीसँग सरकार छ, प्रहरी प्रशासन छ भनेर जे पनि गर्न छुट छैन ।’
प्रकाशित मिति : November 6, 2026 at 4:24 pm










