बामदेव गाैतम भन्छन्, मैले दिँदै नदिएको अन्तर्वार्ता पत्रिकामा कसरी छापियाे ?
२८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले आफूले दिँदै नदिएको अन्तरवार्ता प्रकाशित गरेर एक दैनिक पत्रिकाले आफ्नो गम्भीर मानहानी गरेको भन्दै आपत्ति जनाएका छन् । गाैतमले आज बिज्ञप्ती जारी गरी सो पत्रिकाको अन्तरवार्तामा आफ्नो असहमति रआपत्ति रहेको जनाएका हुन् ।
यस्तो छ गौतमको बिज्ञप्ती
नयाँ पत्रिका दैनिकसम्बद्ध एकजना पत्रकारले हिजोमात्र मलाई फोन गरेर अन्तर्वार्ताका निम्ति जबरजस्त अनुरोध गर्नुभएको थियो । जति जबरजस्ती गरे पनि म अन्तर्वार्ता दिन तयार भइनँ । उहाँले आजको नयाँ पत्रिकामा भन्दै नभनेका तथा निराधार र पत्रिकामा प्रकाशित नगर्ने गरी बोलेका सामान्य कुरालाई अन्तर्वार्ताजस्तो गरी छापेर मेरो चरित्रमा खेलवाड गर्नुभएको छ । नेपाल सरकारले कस्ता नीति अवलम्बन गर्छ, कस्ता नीति अवलम्बन गर्दैन उसको अधिकारको कुरा हो । विकास निर्माणसम्बन्धी ऐनद्वारा निर्देशित प्राधिकरण निर्माण गर्ने विगतमा प्रधानमन्त्रीसँग कुरा भए पनि आज मेरो माग होइन ।
सरकार र पार्टीका नेताहरुसँग यस सम्बन्धमा मेरो कुनै गुनासो पनि छैन । मैले फोन गर्ने पत्रकार मित्रलाई कुराकानीका सम्बन्धमा भनेको यत्ति हो । तर, उहाँले यसलाई अन्तर्वार्ताका रुपमा तोडमरोड गरी प्रकाशित गरेर मेरो मानहानी गर्नुभएको छ र पितपत्रकारिताको नमूना प्रस्तुत गर्नुभएको छ । कानुनतः सम्बन्धित व्यक्तिको सहमतिबिना अन्तर्वार्ता लिन वा नलिएको अन्तवार्ता प्रकाशन र प्रशारण गर्न मिल्दैन । तसर्थ, नयाँ पत्रिकामा ‘अन्तर्वार्ता’ भनी प्रकाशित मेरा भनाइहरु प्रति म स्वयंको सहमति नभएको र त्यस ‘अन्तर्वार्ता’ मा उल्लेखित विषयका आधारमा मेराबारे कुनै धारणा नबनाइदिनुहुन म मेरा समस्त पार्टी सहयोद्धा तथा देश–विदेशमा रहनुहुने शुभचिन्तकहरुमा विनम्र अनुरोध गर्दछु ।
(वामदेव गौतम)
प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १३:४४