२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

डा मनोज केसीको नेतृत्वमा सात महिनामा भएका १२ कारबाही, जसले प्रहरीप्रतिको विश्वास बढायो


-माधवप्रसाद तिवारी 

८ भदौ, काठमाडौँ । नेपाल प्रहरीमा अब्बल अनुसन्धान अधिकृतहरू धेरै छन तर उनीहरूका लागि कम्तिमा एक वर्ष एकै ठाउँमा बसेर काम गर्ने वातावरण भने छैन । कतिपय अधिकृतहरूले जिम्मेवारी सम्हालेको छोटो समयमै पनि आफूलाई अब्बल साबित गरेका उदाहारणहरू पनि केही छन । प्रहरीमा संगठनको हित र जनताको सेवा गर्ने प्रायः अधिकृतहरू राजनीतिक स्वार्थका शिकार हुने गरेका छन । यो विगतदेखिकै अभ्यास हो । जसका कारण कतिपय प्रहरी अधिकृतको ध्यान देशको जनताको सेवा भन्दा पनि दलका नेताहरूको चाकरी हुने गरेको छ । यद्यपी धेरै प्रहरी अधिकृतहरू देश र जनताको सेवामा लागेका छन । प्रहरी सेवामा नराम्रो काम गरेर कारबाहीमा परेको धेरै सुनिएको छ तर राम्रो काम गर्दागर्दै कारबाहीमा परेको भने कमै सुनिनिन्छ ।

यस्तै कमै सुनिएको कुराको एउटा प्रतिनिधि घटना हो नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा मनोज केसीको सरूवा पनि । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा मानवस्तकरी गर्न खोज्ने गिरोहमाथि अनुसन्धानको फाइल खोलेर दोषीलाई कारबाहीको दायरामा ल्याउन नेतृत्व गरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा केसीले थप अनुसन्धान गर्न पाएनन् । १८ जना पीडितको थप जाहेरी लिएर अनुसन्धान प्रक्रियाको जालो पूर्ण रूपमा ध्वस्त पार्न लागेका केसीको सरकारले प्रहरी प्रधान कार्यालयमा सरूवा गरिदियो । उनले उक्त कार्यालयमा जम्मा सात महिनामात्र काम गर्न पाए ।

नेपाल प्रहरीका अनुसन्धानहरू धेरै सफल भएका छन । तर राजनीतिक नेतृत्वको नाम जोडिने बित्तिकै अनुसन्धान नै सामसुम हुने परम्परा स्थापित छ । अझ अपराधमा जोडिएकै नेताहरूको चाकरी गर्न उनीहरूकै घरमा पुग्ने गरेका प्रहरी अधिकृतहरू पनि छन ।  जसका कारण नेपाल प्रहरी राजनीतिक दलका नेताहरूको स्वार्थको भरिया भयो भनेर धेरै टिकाटिप्पणी पनि हुने गरेको थियो । निर्मला हत्या प्रकरण यता केही घटनाहरूमा प्रहरीबाट भएको गम्भीर हेलचक्राइँका कारण जनतामा प्रहरीप्रतिको भरोसा करिब टुट्ने अवस्थामा पुगेको थियो । नागरिकमा प्रहरीप्रति डर र भर दुबै हराउँदै गएको थियो । संसद बैठकमै प्रहरीप्रति डर र भर दुबै नभएको भन्दै सांसदहरूले टिप्पणी समेत गरेका थिए ।

यो पनि पढ्नुहोस्

–शरणार्थी प्रकरणमा आरजु राणा पक्राउको डरले एसएसपी मनोज केसीको सरूवा

–शरणार्थी प्रकरणमा प्रहरी प्रमुखकै भूमिका शंकास्पद, अभियुक्त छाडेर अनुसन्धानको फाइल कब्जा

–मानवस्तकरी प्रकरणः जसले पूर्वगृहमन्त्रीदेखि पूर्वगृहसचिवसम्मलाई पक्राउ गरे

–एसएसपी डा मनोजकुमार केसीः जसले बालकृष्णको आदेशमा बसन्तले बन्द गरेको फाइल खोले

तर पछिल्लो पटक २०७९ साल चैत्रमा  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा केसीले वर्तमान प्रहरी प्रमुख बसन्त कुँवर सोही कार्यालयको प्रमुख हुँदा बन्द गरेको फाइल खोलेर नक्कली भुटानी शरणार्थी सम्बन्धी प्रकरणमा कारबाही प्रक्रिया अघि बढाएपछि प्रहरीप्रति नागरिकको भरोस ह्वात्तै बढेको छ । त्यसपछि प्रहरीका बारेमा सामाजिक सञ्जालमा नागरिकहरूले गरेका टिप्प्णीहरू साच्चिकै सम्झनलायक रहेका छन । नागरिकका टिप्पणीसँगै  प्रहरीले यही समयमा गरेका कामहरू सम्झन लायक रहेका छन । प्रहरी माथि अहिलेसम्म लाग्दै आएको सबैभन्दा ठूलो आरोप थियो राजनीतिक संरक्षणमा जे पनि गर्ने र जस्तोसुकै अपराधमा रहेको भए पनि राजनीतिक संलग्नताको आधारमा उनुमक्ति दिने । तर केसी फाइल खोलेको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको गतिबिधिले त्यो आरोपलाई तथ्यहिन रहेको पुष्टि गर्यो ।

सत्तारूढ पार्टी नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँड, गृह मन्त्रालयका पूर्व सचिव समेत रहेका उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेसहित प्रमुख प्रतिपक्षी दलका प्रभावशाली सांसद समेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी समेतलाई प्रहरीले पक्राउ गरेर कारबाहीको दायरामा ल्यायो । अझै रोचक कुरा त के भने खाँड, पाण्डे र रायमाझी तीनै जना प्रहरीका उच्चतहका परिवारसँग नाता जोडिएका समेत व्यक्ति थिए । आफ्नै संगठनका वर्तमान प्रमुखले राजनीतिक दबाबमा बन्द गरेको फाइल खोलेर त्यसलाई निष्कर्षमा पुर्याउने विषय साच्चै चुनौतिपूर्ण थियो तर केसीले त्यसका लागि प्रकरणमा संलग्नता देखिएकाहरूलाई पक्राउ गर्दै थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौमा बुझाए । उक्त प्रकरणमा पक्राउ परेका १६ जना मध्ये १० जना केसीकै नेतृत्वमा पक्राउ परेका थिए ।

आफ्नै तालुकदार मन्त्रालयको पूर्व मन्त्री र सचिव पक्राउ गर्ने कुरा अहिले पनि अन्य अधिकृतले शायदै सोचेका होलान तर डा केसीले कारबाहीको दायरामा ल्याउने हिम्मत गरे । योसँगै उनले कामबाट आफू मिसनसहितको अब्बल अधिकृत रहेको प्रमाणित गरे । प्रहरीमा नराम्रो काम गरेर, परिस्थिति सम्हाल्न नसकेर र पदको दुरूपयोग गरेर सरूवा भएको धेरै सुनियो र समाचार पनि लेखियो तर राम्रो काम गरेर सरूवा परेको प्रहरीको बारेमा म स्वयंले पहिलो पटक समाचार लेखेँ । सम्भवतः प्रहरी सेवामा गुम्दै गएको साख र नागरिकको प्रहरीप्रतिको भरोसा बढाउने काम गरिरहेका अधिकृतको सोही कारण सरूवा भएको यो पहिलो घटना हुनसक्छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा बेच्ने योजना तत्कालीन कांग्रेस, एमाले र माओवादी नेता कार्यकर्ता र विचौलियाको सेटिङमा तयार भएको थियो । गिरोहले ८७५ जना नेपालीसँग १० लाखदेखि ५० लाख रूपैयाँसम्म असुल गरेको पाइएको छ । गिरोहकै योजनामा तत्कालीन सरकाले २०७६ जेठ ३० मा भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा मानवतस्करी गर्न खोजेको गिरोहका विरूद्धमा प्रहरीले चालेको कदमको सबैले प्रशंशा गरेका छन । प्रहरीले चाहँदा अपारधीहरू उम्कन सक्दैनन् भन्ने सन्देश पनि यस अनुसन्धानले दियो ।

जब गृहमन्त्रीकै अघि आरजुले आँशु झारिन

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुरक मुद्दाका लागि अनुसन्धान सुरू भएपछि पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा सरकारले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा केसीको सरूवा गर्यो । डा केसीले १८ जना पीडितको थप जाहेरी लिएर अनुसन्धान प्रक्रिया अघि बढाएपछि नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवा पक्राउ पर्ने डरले जसरी पनि केसीको सरूवा गर्ने अभियानमा लागिन ।  त्यसैका लागि पति शेरबहादुर देउवाले धुम्बाराहीको भाडाको निवासमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  बोलाएर तत्काल हटाउन आदेश दिए । सोही समयमा आरजुले गृहमन्त्रीलाई हात जोड्दै केसीको तत्काल सरूवा गरिदन अनुरोध गरिदन । उनले अन्यथा आफूलाई पक्रेर लान लाने भनेर अनुनयविनय गरिन । जुन कुरा अहिले नेपाल प्रहरी, नेपाली कांग्रेस र सिंहदरबारभित्र उत्तिकै चर्चामा छ ।

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदद्धय आरजु र मञ्जुलाई साँढे ८ करोड बुझाएको अडियो सन्देश शर्माकै भएको पुष्टि

शरणार्थी प्रकरणमा कांग्रेस नेताकै निर्णायक संलग्नता भेटेपछि सत्तारूढ दलको आकस्मिक बैठक

तोसिमा कार्कीको आरजुलाई प्रश्नः भ्रष्टाचारको पनि लिङ्ग हुन्छ ?

कांग्रेस सांसद आरजु र मञ्जुलाई अनुसन्धानको दायरामा नल्याएकोमा एमालेको आपत्ति

–नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियो : आरजु राणा

देउवासँग गृहमन्त्री श्रेष्ठले सीधै केसीलाई मात्र हटाउन नमिल्ने भन्दै पहिला  काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी श्यामलाल ज्ञवालीको सरूवा गर्ने र त्यसपछि केसीको सरूवा गर्ने प्रतिवद्धता व्यक्त गरेर बाहिरिए । गृहमन्त्रीले दुबै प्रहरी अधिकृतको सरूवा आफ्नो इच्छा नभएर पनि सत्ता जोगाउनका लागि सरूवा गर्नुपर्ने बाध्यता रहेको सुनाए र प्रधानमन्त्रीसँग पनि ब्रिफिङ गरे । त्यसपछि सञ्चार माध्यमहरूमा ज्ञवाली र केसीको तत्काल सरूवा गर्न निर्देशन दिएको विषय सबैजसो सञ्चारमाध्यममा हेडलाइन नै बनेर समाचार प्रकाशित  भयो । त्यसको एक साता बित्न नपाउँदै गृह मन्त्रालयले ज्ञवाली र केसीको सरूवा गर्यो । ज्ञवाली कामको शिलशिलमा देशबाहिर रहँदै सरूवा भयो भने केसी नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमै रहेको समयमा सरूवामा परे । प्रहरी प्रधान कार्यालयले नेपाली कांग्रेसकी नेतृ राणा र मञ्जु खाँडलाई पैसा बुझाएको भन्ने विचौलिया सन्देश शर्माको अडियो शर्माकै रहेको पुष्टि गरेपछि उनको निद हराम भएको थियो । उक्त अडियोमा राणाले साँढे दुई करोड र कांग्रेस सांसद खाँडले ६ करोड रूपैयाँ बुझेको बताइएको छ ।

माओवादीले कार्यकर्ताको खुशी जोगाउन सकेन 

डा केसीले भुटानी शरणार्थीको फाइल खोलेपछि सबैभन्दा बढी प्रचार गर्ने र जस लिन होडबाजी गर्ने सत्तारूढ नेकपा माओवादी केन्द्रका नेता र कार्यकर्ता थिए । उनीहरूले देख्यौँ प्रचण्डको इमान्दारिता रु भ्रष्टाचारविरूद्धको अभियानमा नारायणकाजी श्रेष्ठले राम्रो काम गरे, सुशासन स्थापनामा प्रचण्डले छलाङ मारे जस्ता कुरा गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणको जस लिने काम गरे । सत्तारूढ दलकै प्रभावशाली नेताहरू समेत समातेर सरकारले आग्रह र पूर्वाग्रह नराखेको व्याख्या गरे । तर बिडम्बना जे विषय माओवादी नेता र कार्यकर्ताले बेच्दै जनताको बीचमा छाती चौडा पारेर संगठन बनाउन खोज्दै थिए ठीक त्यही बेला सरकारले नक्कली भुटानी शरणार्थीको फाइल खोलेर राम्रो काम गरेका प्रहरीमाथि करबाही गर्दै सरूवा गर्यो  । थप पीडितको उजुरीमा अनुसन्धान गरिरहेकै समयमाले सरकारले केसीलाई प्रहरी प्रधान कार्यालय सरूवा गर्यो । कर्मचारी र प्रहरी अधिृकतको सरूवा सामान्य विषय हो । तर राम्रो काम गरिरहेको त्यसमा पनि सिंगो सरकार र माओवादी कार्यकर्ताले खुशी मनाइरहेको नक्कली शरणार्थी प्रकरणको विषयमा थप अनुसन्धान गरिरहेका अधिकृतको सरूवा हुनु स्वभाविक मान्न सकिदैन । यसबाट नक्कली भुटानी शरणार्थीको फाइल  माओवादी नेतृत्वको सरकारले चाहेर खुलेको वा प्रकरणमा संलग्नहरू प्रधानमन्त्री र गृहमन्त्रीको आदेशमा पक्राउ परेका थिएनन् बरू एक प्रहरी संगठनको इज्जत जोगाउन अधिकृतहरूले निर्भयका साथ आफ्नो कर्तव्य पालना गरिरहेका थिए भन्ने पुष्टि भयो ।

के गर्छ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ?

यसको स्थापना २०५० सालमा काठमाडौँ प्रहरी परिसर मातहत ‘केरकार शाखा’ को रुपमा भएको थियो । पछि उपत्यका अपराध अनुसन्धान शाखा, महानगरीय अपराध अनुसन्धान महाशाखा हुँदै अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालको रूपमा रहेको छ । यो २०६३ साल मंसिर १ देखि महाशाखाको रूपमा स्थापित भएको हो । तर धेरै पछिसम्म काठमाडौँ प्रहरी परिसरसँगै रहेको यो निकाय केही वर्षयता नयाँबानेश्वरमा रहेको छ । देशमा बढदै गएको अनियन्त्रित शहरीकरण, द्रुत आर्थिक कारोवार, खुलापन, बढ्दो बेरोजगारी तथा संगठित अपराधिक गिरोहहरुको गैह्रकानूनी गतिविधीका कारण काठमाण्डौं उपत्यकामा देखा परेका परम्परागत र आधुनिक प्रकृतिका अपराधहरुको प्रभावकारी नियन्त्रण र वस्तुनिष्ठ अनुसन्धान गर्न नेपाल प्रहरीले यो कार्यालयलाई जिम्मा दिएको छ । काठमाण्डौं उपत्यकाको बढ्दो जनघनत्व र अपराधमा प्रयोग भैरहेको आधुनिक प्रविधिको कारण यस महाशाखाको कार्यसम्पादनलाई गुणात्मक रुपमा अभिवृद्धि गर्दै लैजानुपर्ने यथार्थता अनुरुप उपलब्ध सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी अपराधको परिणाममुखी र वस्तुनिष्ठ अनुसन्धान गर्ने जिम्मेवारी यस महाशाखाको मुख्य प्राथमिकता रहेको छ । मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत प्रहरीलाई अनुसन्धान गर्ने अख्तियारी प्राप्त मुद्धाहरुको दायराभित्र पर्न आउने अपराधहरु मध्ये काठमाण्डौं उपत्यकामा घटित बिभिन्न प्रकृतिका अपराधहरुको अनुसन्धान र नियन्त्रण गर्दै सुरक्षित काठमाडौँ उपत्यकाको अवधारणालाई साकार पार्ने कार्यमा यस कार्यालयले काम गर्दै आइरहेको छ ।

डा मनोज केसीको नेतृत्वमा सात महिनामा भएका १२ महत्वपूर्ण काम

१. भुटानी शरणार्थी बनाई अमेरिकामामा मानवस्तकरी गर्ने गिरोहका सदस्यहरू पक्राउ 

नेपाल सरकारका उच्च अधिकारीहरुसँग सम्पर्क गरिरहेको छु भनि फोन गरेर सुनाउदै सेटिङ्ग मार्फत भुटानी शरणार्थी बनाई अमेरिकामा पठाउछु भनि विश्वास दिलाई गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई भुटानी शरणार्थीको फारम भर्न लगाई १३ करोड ६३ लाख रूपैयाँ  रकम लिई ठगी गर्ने कार्यमा संलग्न रहेका टंककुमार राई, केशवप्रसाद दुलाल र सानु भण्डारी २०७९ चैत १२ गते पक्राउ । नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँड र उका निजी सचिव नरेन्द्र केसी, तत्कालीन गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, पूर्व गृहसचिव समेत रहेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्व ऊर्जामन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी लगायतलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसरमा बुझाएको । पुनः १८ जना पीडितको जाहेरी परेपछि थप अनुसन्धान हुँदै गर्दा कार्यालय प्रमुख केसीकै सरूवा ।

२. ब्राण्डेट नक्कली रक्सी बनाउने र बेच्ने पक्राउ 

२०७९ माघ १३ गते स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी गरी बेच्ने गरोह माथि कारबाही । २०७९ माघ १३ गते ललितपुर महानगरपालिका वडा नं.०१ कुपण्डोल स्थित निरज उप्रेतीले संचालन गरेको नेक्स्ट टेस्ट लिक्वाएर स्टोरमा खानतलासी गर्दा नक्कली खुकुरी रम बरामद । २०७९ माघ १४ गते ललितपुरस्थित महालक्ष्मी नगरपालिका वडा नं.०५ टिकाथलीको विभिन्न स्थानहरुमा विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको नाम दिई नक्कली मदिरा बनाउने स्थान तथा नक्कली मदिराहरू र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका रक्सीहरूको खाली बोतल, राजश्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिन लगायत अन्य विभिन्न सामाग्रीहरू बरामद । सो सम्बन्धमा थप अनुसन्धान गर्दा काठमाण्डौ मित्रनगर स्थित धर्मी गौडेलले संचालन गरेको एस टी लिक्वाएर स्टोरमा नक्कली खुकुरी रम, रूस्लान भोड्का, लगायत बरामद गरी पक्राउमा परेका निरज उप्रेती, गणेश बहादुर रानामगर र धर्मी गौडेललाई कालोवजार तथा केही अन्य सामाजिक अपराध तथा संजाय ऐन २०३२ अन्तर्गतको कसूर समेतमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परीसर ललितपुरमा पठाएको ।

३. हुन्डी कारोबारी पक्राउ 

नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश वा निर्देशन विपरीत हुने गरी काठमाण्डौको न्युरोड एरियामा इजाजतपत्र नलिई बित्तीय कारोवार गर्दै आएका आशिष गजुरेल, दिपेन्द्र बहादुर मल्ल र किशोर चौधरी समेतका व्यक्तिहरु माथि निगरानी राखी २०७९ माघ २० गते काठमाण्डौको न्यरोड र बवरमहलबाट दिपेन्द्र बहादुर मल्ल र किशोर चौधरीलाई पक्राउ गरी निजहरुको साथबाट नगद ७८ लाख ५० हजार रूपैयाँ र मोबाईल थान(३ लगायतका समानहरु बरामद गरी नेपाल राष्ट्र बैक ऐन २०५८ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान कारवाहीको लागि लागि जिल्ला प्रहरी परीसर टेकु पठाइएको ।

४. बसपार्क लोत्से मलको लुटपाटमा मुख्य अभियुक्तहरू पक्राउ

२०७९ फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक विदाको दिन काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायीहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १०(दश) वुँदे माग राखी गरेको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले प्रहरी भ्यान, प्रहरी विट, ट्राफिक आईल्याण्ड तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न रहेका ईलाराज गुरूङ, ईन्द्र तामाङ, माधव शाही, ताप्ले भन्ने सुरज मगर, सिगाने भन्ने रोमन नगरकोटी, सुनिल कालीकोटे, सुदिप तामाङ, विकास गुरूङ, संविधान परियार, केशर राई, हरीशरण तामाङ, राजन राउत र कविन खड्गीलाई फागुन ३ गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको ।

५. नेपाली नागरीकता बनाउने तिब्बतीहरू पक्राउ 

झुट्टा लिखत तयार गरी वडा कार्यालय समेतको छाप प्रयोग गरी नक्कली सिफारीस बनाई गैह्रनेपाली तिब्बतियन व्यक्तिहरूको नेपाली नागरीकता समेत वनाई दिने कार्यमा संलग्न रहेका कृष्ण बहादुर कटुवाललाई २०७९चैत ०५ गते अनामनगरको हनुमानथानबाट विभिन्न व्यक्तिहरूको शैक्षिक प्रमाणपत्र, नेपाली नागरीकताको प्रमाणपत्र, नाम खाली रहेको नागरीकताको फर्म, नेपाली नगद तीन लाख पचास हजार पाँच सय मात्र, विभिन्न छापहरू थान-४, मोबाईल थान-२ सहित पक्राउ गरिएको  । त्यत्स्तै न्युल्केश श्रेष्ठलाई काठमाण्डौको बबरमहलबाट मोबाईल सहित, हिरालाल शिवाकोटीलाई ललितपुरको सानेपाबाट शैक्षिक प्रमाणपत्र, नक्कली सवारी चालक अनुमतीपत्र, मोबाईल थान-२ सहित, बिजय लामा र लोब्साङ ठिन्लेलाई २०७९चैत ६ गते काठमाण्डौको बबरमहल र बानेश्वरबाट मोबाईलहरू, नागरीकता सहित पक्राउ गरी प्रचलित कानुन बमोजिम लिखत सम्बन्धी कसुर तथा नागरीकता ऐन अन्तर्गतको कसुर समेतमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको  ।

६. ठगीमा संलग्न चिनियाँहरू पक्राउ

अभिशेक चम्लागाई लगायतलाई वाट्सएपबाट म्यासेज गरी सामानको अर्डर गर्न भन्दै झुक्याएर ४८ लाख २६ हजार ५२ रूपैयाँ ठगी गर्ने नेपाली नागरिकहरू बुद्धिराज श्रेष्ठ, ईन्द्र बहादुर तामाङ, राजकुमार लामा, प्रयास भण्डारी, अर्जुन श्रेष्ठ, रविना सुनुवार, सुनिता गुरुङ, कृष्टिना लामा भन्ने जमुना गोले, अनिता मगर र अनु गुरुङसहित चिनियाँ नागरिक HUANG HUANRONG, XU FUXIANG, LAN ZHENGWEI, XIE GUO YI, XIE SHUANG DI, GAO MING, EHOU PING VING, CHEN DUR LIN and LI JIAN HONG लाई २०७९ चैत १५ गते काठमाण्डौको बिभिन्न स्थानहरुबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको ।

७. नेपाली नागरीकता बनाउने भारतीय पक्राउ 

भारत स्थायी वतन भइ नेपालका विभिन्न जिल्लाबाट विभिन्न समयमा नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको समय पारी निजहरूले झुट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिई विभिन्न स्थानमा घर-जग्गा खरिद गरी व्यापार व्यवसाय समेत गरी बसेका भरत प्रसाद गुप्ता, ज्ञानमति देवी गुप्ता, राहुल गुप्ता, गोपाल गुप्ता, भरत गुप्ता, स्नेह लता गुप्ता, राम प्रबेश गुप्ता, मिना देवी गुप्ता, राम सुन्दर गुप्ताकानु र राजेश कुमार गुप्ता समेत १० जनालाई २०८०।वैशाख २३ गते काठमाडाैँको विभिन्न स्थानहरुबाट पक्राउ गरी नागरिकता सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको ।

८. सट्टाबाजी गराउने र क्रिप्टो करेन्सीको कारोबार गर्ने कलाकारहरू पक्राउ 

विभिन्न ब्यक्तिहरूको नामको इसेवा, मोबाईलको क्यूआर कोड लगायत अन्य डिजिटल वालेट तथा बैंक खाताहरु समेत आफ्नो स्वामित्वमा ल्याई विभिन्न ब्यक्तिहरुसँग सम्पर्क गरी वान एक्स बेटमार्फत् विभिन्न खेलहरुमा अनलाईन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेका दिनेश खड्का र अनिता धिताललाई २०८० जेठ ३० गते काठमाण्डौको मैजुबहाल स्थित निजहरूको कोठाबाट र २०८० जेठ ३१ गते सट्टावाजी गर्न गराउनको लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न रहेका पवन भन्ने रोशन खतिवडा, जलन मगर, बल्छी धुर्वे भन्ने मरिचमान श्रेष्ठ, राजु मास्टर भन्ने राजु पौडेल, गणेश देवकोटा, अलिस राई, भटभटे माईला भन्ने बेगम नेपाली र ढेडु बुढो भन्ने सरोज घिमिरेलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी नेपाल राष्ट्र बैकको नियम अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको ।

९. बीमामा ठगी गर्नेहरू पक्राउ

वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापतको रकम मृतकको आफन्तलाई दिन्छु भनी बीमा बापतको केही रकम मृतकको आफन्तलाई दिइ बाँकी रकम ठगी गर्ने अर्घाखँँची घर भएका बैदेशिक रोजागार बोर्डमा कार्यरत नायब सुब्बा पशुपति अधिकारी र भक्तपुर चाँगुनारायण घर भएका सुर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत उमेश बुढाथोकीसहित सात जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको ।

१०. लुटेराहरू पक्राउ

काठमाण्डौ उपत्यकामा बिहानको समयमा पैदल हिड्ने महिलाहरूले घाँटीमा लगाएको सुनको सिक्री जबरजस्ती तानी चोरी गरी लैजाने गरेका वाबे भन्ने रविन दमाई, रवि बिश्वकर्मा, उमेश क्षेत्री र राहुल माझीलाई मिति २०८० असार २२ गते काठमाण्डौको बुढानिलकण्ठ र बत्तिसपुतली राममन्दिर नजिकबाट चोरीएको सुनसहित, चोरीको सुन किन्ने श्रीकान्त माईतीलाई २०८० असार २४ गते काठमाण्डौको न्युरोड स्थित सिल्पा ज्वेलर्सबाट चोरी गरी गालि स्वरूप परिवर्तन गरी बनाएको सुनको लेक्लेससहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको ।

११. सुन तस्करमा संलग्न पक्राउ 

२०८० असार २४ गते बिहान कतारबाट काठमाण्डौ आउने नेपाल वायु सेवा निगमको अारए २४० नम्बरको फ्लाईटबाट नेपाल आउदै गरेका नरेश पन्जियार, दिनेश कुमार यादव, भुम बहादुर ओली, सुनिल कुमार महरा, सन्त गुलाम मुराव समेतका व्यक्तिहरूले भन्सार छली अवैध रूपमा ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्ष तर्फको पार्किङमा स्थलबाट २९१.५७ ग्राम सुनसहित पक्राउ गरिएको । सो सुन लिन विमानस्थल पुगेका विनोद कुमार साह, सन्जु कुमारी साह, दुर्गा प्रसाद यादव र देवनन्दन साह पनि विमानस्थलबाटै पक्राउ, भन्सार छलीको उक्त सुन खरिद गर्ने निमाई साह काठमाडाैँको बागबजारबाट २५१.१७ ग्राम सुनसहित पक्राउ । उक्त सुनको कारोबारमा संलग्न रहेका मोहन कुमार यादव र शिव सुन्दर राउतलाई सिराहाबाट नगदसहित पक्राउ गरी संगठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको  ।

१२ बंगलादेशका नागरिकहरूलाई अपहरण गरी फिरौती माग्ने पक्राउ

बंगलादेशी नागरिक पासपोर्ट नं. EF0877264 बाहक RAJON, पासपोर्ट नं. A05828832 बाहक FARHAD HOSSEN, MD NAZMUL ,पासपोर्ट नं. A04477070 बाहक MD EYASIN, IBRAHIM HOSSEN, पासपोर्ट नं. A02720652 बाहक MD AL AMIN, पासपोर्ट नं. EB0710119 बाहक SHAPNA, पासपोर्ट नं. A11254570 बाहक RUMA AKTER समेत ८ जनालाई बैदेशिक रोजगारीको लागि नेपाल हुदै विभिन्न देशहरुमा पठाई दिन्छु भनि बंगलादेशबाट नेपालमा ल्याई काठमाण्डौको बिभिन्न होटल तथा मसाज सेन्टरहरुमा अपहरण गरी शरिर बन्धक बनाइ पीडितहरूको परिवारसँग फिरौती रकम लिएको घटनामा संलग्न रहेका नेपाली तथा बंगलादेशी नागरिकहरु AMIR HUSSEN, Salim Miya, MD MOSHIUR RAHAMAN र तारा नेपालीलाई २०८० साउन २६ गते र रोशनी राई, बंगलादेशी नागरिक ताहमिना बेगम र जाहङगीर आलमलाई साउन २७ गते पक्राउ गरी अपहरण तथा शरिर बन्धक लिन नहुने कसुर र संगठित अपराध समेतमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको साथै पीडित २ जना महिला सहित ८ जना बंगलादेशी नागरिकहरुको उद्धार गरिएको ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १३:०४