२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

तोसिमा कार्कीको आरजुलाई प्रश्नः भ्रष्टाचारको पनि लिङ्ग हुन्छ ?

२६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सदन देश निर्माण गर्ने ठाउँ हो कि भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउँने स्थल हो भन्दै प्रश्न गरेकी छिन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा संलग्नलाई पक्राउ पुर्जी जारी गर्दा समेत एकले अर्कोलाई जोगाउँने काम भईरहेको भन्दै देशलाई डुबाउने काम भएको भन्दै आपत्ति जनाइन ।

उनले भनिन् ‘यो सदन देश निर्माण गर्ने ठाउँ हो कि भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउँने स्थल हो । नेपाली नागरीकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूला ठूला निकाय र नेताहरु संलग्न भएको कुरा बाहिर आएको छ पक्राउ पुर्जी जारी गर्दा समेत जोगाउन खोजिएको छ । एकले अर्कोलाई जोगाई रहने काण्डै काण्ड गरिरहने अनि यो देशलाई डुबाईरहने ?।’

उनले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले अनुसन्धान माग गर्दा महिलालाई अघि बढ्न रोक लगाइयो,महिलामाथि हिंसा भयो भनेको भन्दै भ्रष्टाचारको पनि कुनै लिङ्ग हुन्छ भन्दै राणालाई प्रश्न गरिन् । कार्कीले चिनारी फेरेर राष्ट्रघात र अपराध भएको भन्दै कडा कारवाहीको माग पनि गरिन् ।

उनले भनिन् ‘अन्तर्राष्ट्रिय जगतमा समेत राष्ट्रलाई दलाल स्थापित गर्ने अनि के मुखले अनुदान माग्न जानी ? एक जना महिला सांसदले काण्डको अनुसन्धानको माग गर्दा महिला हिंसा भयो भन्नु भयो मलाई उत्तर दिनुपर्यो भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ । भ्रष्टाचार मात्र होईन् चिनारी फेरेर राष्ट्र घातको अपराध भएको छ कारवाही हुनुपर्छ ।’

नेपाली कांग्रेसकी सांसद राणाले आइतबारको संसद बैठकमा शरणार्थी प्रकरणमा आफुहरुको नाम मुछेर महिलालाई अघि बढ्न नदिने षडयन्त्रको विजारोपण भएको भन्दै सबै सांसदको सम्पत्ति छानविन गर्न माग गरेकी थिइन् ।

प्रकाशित मिति : May 9, 2023 at 12:18 pm