२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

२३ कात्तिक, काठमाडौं । रुकुम पश्चिममा जीप दुर्घटना भएकाे छ । रुकुम पश्चिम आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

आज दिउँसो १२:०० बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। उक्त जीप आठबिसकोट नगरपालिका–४ बस्ने वर्ष २५ का प्रदिप विकले चलाएका थिए । दुर्घटनामा आठबिसकोट नगरपालिका–५ बस्ने वर्ष १० का हरिबहादुर थापा र वर्ष २९ का लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा जुना कुमारी थापा, वीरबहादुर थापा, सीता थापा, जुनि थापा, युवराज थापा, विरता थापा घाइते भएका छन् । उनीहरूकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । त्यस्तै, साेही दुर्घटनामा हिरा थापा, गौरव थापा, सुशिला थापा एरी, भावना थापा एरी, खिममाया थापा, रमिता एरी र निर्मला एरी घाइते भएका छन् । यी मध्ये हिरा र गौरव अवस्था मध्यम रहेकाे छ भने अन्यकाे अवस्था सामान्य  रहेकाे प्रहरीले जनाएकाे छ ।

घाइतेमध्ये सामान्य तथा मध्यम अवस्थाका ६ जनालाई उपचारका लागि नगर अस्पताल राडी पठाइएको छ भने अन्य घाइतेलाई उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएकाे छ। दुर्घटनापछि चालक फरार रहेकाले खोजतलास भइरहेको छ भने जीप घटनास्थलमै रहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : November 9, 2026 at 3:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/