पोखराको पहिलो जित, कर्णालीविरुद्ध ६३ रनले विजयी
२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो। पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८.३ ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि पवन सर्राफले ३० बल खेल्दै १ चौका र २ छक्का मदतमा सर्वाधिक ३२ रन बनाए । यस्तै ओपनर अरिफुल इस्लामले १३ बलमा समान २ चौका र २ छक्का मदतमा २४ रन बनाए भने दीपक डुम्रेले आक्रमक ब्याटिङ गर्दै ७ बलमा १ चौका र३ छक्का मदतमा २२ रन जोडे ।

पोखराका मेहदी हसनले तीन तथा धनन्जय लक्षण, विपिन खत्री र कुशल भुर्तेलले दुई–दुई विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ३ विकेटको क्षतिमा २१७ रन जोड्यो ।
प्रकाशित मिति : November 9, 2026 at 4:20 pm










