१५ जेष्ठ २०८१, मंगलवार | Tue May 28 2024

शरणार्थी प्रकरणमा कांग्रेस नेताकै निर्णायक संलग्नता भेटेपछि सत्तारूढ दलको आकस्मिक बैठक


२३ वैशाख, काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा मानवतस्करी गर्ने योजना बनाएको गिरोहमा नेपाली कांग्रेसका दुई सांसदसहित तीन नेताको नाम जोडिएपछि सत्तारूढ दलका शीर्ष नेताहरूको आकस्मिक बैठक बोलाईएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गिरोहमा संलग्न रहेका नेताहरूको विषयमा छलफल जारी रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

कांग्रेस नेताहरूको नाम गिरोहसँग जोडिएको र तत्कालीन गृहमन्त्री समेत रहेका कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँडको निर्णायक भूमिका उक्त प्रकरणमा देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चिन्तित भएर प्रधानमन्त्रीलाई बैठक डाक्न अनुरोध गरेका थिए ।

खाँडसहित कांग्रेस सांसदद्धय डा आरजु राणा देउवा र मञ्जु खाँडको नाम प्रकरणमा जोडिएको छ । यही प्रकरणमा पक्राउ परेका विचौलियासहित सचिव टेकनारायण पाण्डेले करिब ५ करोड रूपैयाँ तीन जना कांग्रेस नेतालाई बुझाएको विषय यसअघि विभिन्न सञ्चार माध्यममा अनुसन्धान अधिकृतको हवाला दिँदै समाचारहरू प्रकाशित भएका छन ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीको नाममात्र जोडिँदा आक्रमक भएर कारबाहीको माग गरिरहेका नेपाली कांग्रेसका नेता कार्यकर्ता खाँडद्धय र राणाको नाम आएसँगै एकाएक रक्षात्मक बन्न पुगेका छन । उनीहरू अहिले आफ्नो नेताको संलग्नता अस्वीकारको विज्ञप्तिको प्रचारमा लागेका छन ।

यस प्रकरणमा मुछिएका जोसुकै भए पनि अनुसन्धान प्रक्रिया टुंग्याएर मुद्दा दर्ता गर्ने दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेस नेताहरूको नाम जोगाउन खोजेपछि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले दुई पटकसम्म भेटेर निष्पक्ष अनुसन्धानका लागि भन्दै प्रधानमन्त्रीलाई चेतावनी र दबाब दिएका छन । अनुसन्धान अधिकृतहरूले कांग्रेस नेताको संलग्नताको नाम लिएको अडियो रेकर्ड हटाएर एमाले नेता र कर्मचारीहरूको मात्र राखेको आरोप एमालेले लगाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँडको निर्णायक भूमिका रहेको खुलासा

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने मानवतस्करी प्रकरणः बोले बालकृण खाँड

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार १८:३६