६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

शरणार्थी प्रकरणमा आरजु राणा पक्राउको डरले एसएसपी मनोज केसीको सरूवा


४ भदौ, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुरक मुद्दाका लागि अनुसन्धान सुरू भएपछि सरकारले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा मनोज केसीको सरूवा गरेको छ । डा केसीले १८ जना थप पीडितको जाहेरी लिएर अनुसन्धान प्रक्रिया अघि बढाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा केसीको सरूवा गरिएको हो ।

सभापति देउवाले केसीको विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निवासमै बोलाएर तत्काल हटाउन आदेश दिएका थिए । जवाफमा केही समय मागेका गृहमन्त्री श्रेष्ठले काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुख एआई श्यामलाल ज्ञवालीको सरूवा गरेको थियो । वर्तमान प्रहरी प्रमुख बसन्त कुँबरले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुँदा नेपाली कांग्रेसकै नेताहरूको आग्रहमा बन्द गरेको फाइल डा केसी सो कार्यालयको प्रमुख भएपछिो खोलेका थिए ।

उक्त फाइल खुलेपछि अनुसन्धानका लागि पूर्व गृहमन्त्री समेत रहेका कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँडसहित पूर्व उपप्रधानमन्त्री समेत रहेका एमालेका सचिव टोपबहादुर रायमाझी लगायत नेताहरू नै पक्राउ परेका थिए । उनीहरूले अहिले पनि जेलमै छन । एसएसपी डा केसीले थप १८ जनाको जाहेरी लिएर अनुसन्धान पक्रिया अघि बढाएपछि नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवा तानिने भयका कारण सरकारले अनुसन्धानको नेतृत्व गरिरहेका एसएसपीलाई सरूवा गरिदिएको हो ।

डा केसी उक्त कार्यालयको प्रमुख नभएको भए नक्कली भुटानी शरणार्थीको फाइल खुल्ने कुनै सम्भावना नै नरहेको प्रहरीका बहालवाल र पूर्व अधिकृतहरूले बताउने गरेका छन । अनुसन्धानमा अब्बल डा केसी नेताको घरदैलो नचाहार्ने थोरै प्रहरी अधिकृतको सूचीमा अग्रस्थानमा रहन्छन । केसीलाई त्यहाँबाट हटाएर प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइएको छ । केसीसँगै अन्य केही एसएसपीको पनि सरूवा भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार २०:०४