२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

दाङ क्रिकेट लिगको उपाधि घोराही टाइगर्सलाई

१७ चैत, दाङ । दाङ क्रिकेट लिगको उपाधि घोराही टाइगर्सले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा बिहीबार भएको फाइनल खेलमा देउखुरी वारियर्सलाई ६ रनले पराजित गर्दै पहिलो संस्करणको उपाधि उचालेको हो ।

घोराहीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको देउखुरीले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २७ रन मात्रै बनायो । जितको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको देउखुरीले पहिलो पावर प्लेमा विकेट बचाउँदै राम्रो सुरुवात गरे पनि अन्तिम ओभरमा खेल्न नसक्दा हार व्यहोर्‍यो ।

देउखुरी वारियर्सका प्रज्वल थापाले ५१, आशिष् ओलीले ६, विशाल विक्रम केसीले २०, प्रतिष जिसीले ४, सन्देश पाण्डेले ५, मार्की खेलाडी नारायण जोशीले २१, अमित तामाङले ५, व्रिशभ सेन्चुरीले १, विषम थापाले ८ र करण घर्तीले १ रन बनाउँदै १ सय २७ रन बनाए । यस्तै, बलिङतर्फ घोराहीका रासिद खानले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । यस्तै, सिद्धान्त राज शाहीले पनि ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।

यस्तै, अनुप न्यौपानेले ४ ओभरमा उत्कृष्ट बलिङ गर्दै केवल १५ रन दिँदै ४ विकेट लिए । रविन थापा, आवाज गौतम र रवीन्द्र जंग शाही भने विकेट विहीन रहे । टस जितेर पहिले ब्याटिङ गरेको घोराहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो ।

पहिलो पावर प्लेमा राम्रो सुरुवात गरेको घोराही टाइगर्सले मध्यक्रमका व्याट्स म्यान क्रिजमा टिक्न नसक्दा लगातार विकेट गुमाउँदै देउखुरी वारियर्सलाई मध्यम लक्ष्य दिएको थियो ।

घोराहीका लागि विराट भण्डारीले ३२, रवीन्द्र जंग शाहीले ९, सुशान्तसिंह थापाले १३, शिशिर डिसीले ६, सिद्धान्त राज शाहीले २, रविन थापाले १०, रासिद खानले ८, युवराज सुवेदीले १३, तुलबहादुर थापाले २० र अनुप न्यौपानेले ७ रनको योगदान दिँदै १ सय ३३ रन बनाए ।

बलिङतर्फ देउखुरी वारियर्सका अमित तामाङले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिँदा नारायण जोशीले पनि ४ ओभरमा २५ रन दिएर समान ३ विकेट लिए । यस्तै, विशाल विक्रम केसीले ४ ओभरमा २२ रन दिएर २ विकेट लिँदा आशिष् वलीले पनि ४ ओभरमा २ विकेट लिँदै २१ रन खर्चिए ।

चैत्र १२ गतेबाट सुरु भएको लिगमा ५ वटा फ्रेन्चाइज क्लबले अक्सन मार्फत खेलाडी किनबेच गरी लिगमा भाग लिएका थिए । उपाधि विजेता टिमले नगद २ लाखसहित ट्रफी उचाल्ने छ भने उपविजेता टिमले १ लाखसहित ट्रफी प्राप्त गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार २२:२३