२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

बूढानीलकण्ठ नगरपालिकामा उमा कुङ्फु हुने

२२ फागुन, काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा बुढानीलकण्ठ नगरपालिकास्तरीय उमा कुङफु प्रतियोगिता २८ फागुनमा हुने भएको छ । प्रतियोगितामा करिब १५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जानकारी दिए । पुरुष-महिलामा गरी जम्मा १५ स्पर्धा समावेश छन् ।

प्रतियोगिताका खेलहरू बूढानीलकण्ठको कपनमा हुने छ । अध्यक्ष लामा, आयोजक संघका पूर्वअध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक उद्धव थापा मगर, आयोजक संघका प्रथम उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईलगायतको टोलीले प्रतियोगिता सञ्चालन गर्ने छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब सात लाख रुपैयाँ लाग्ने छ ।

प्रतियोगितालाई लक्षित गरी संघको आयोजनामा रेफ्री सेमिनार पनि सम्पन्न भएको छ । सहभागीलाई अध्यक्ष लामाले सैद्धान्तिक तथा पूर्वअध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक मगरले प्रयोगात्मक ज्ञानबारे जानकारी गराएका थिए ।

एकदिने सेमिनारमा १७ जना सहभागी थिए । सहभागीलाई अध्यक्ष लामा, पूर्व अध्यक्ष मगर, प्रथम उपाध्यक्ष सन्जीत, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भूपेन्द्र गुरुङ, सचिव रमेश महर्जनलगायतले प्रमाण पत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आईतवार १३:५३