१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

हिमचितुवाद्वारा बक्सिङमा नयाँ रेकर्डः लगातार तीन जित

१५ फागुन, काठमाडाैँ । युवा पुस्ताका चर्चित बक्सर खेलाडी अविरल घिमिरेले ऐतिहासिक सफता हासिल गर्नुभएको छ । आज अपराह्न जापानको टोकियो सहरमा आयोजित ७० केजीको ‘के वान के प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’मा जापानी बक्सर दाइ माचुसितालाई पहिलो राउण्डमा नै पराजित गरी उहाँले बक्सिङ खेलमा नयाँ रेकर्ड समेत कायम गर्नुभएको छ ।

सो तौल समूहको प्रतिष्पर्धामा लगातार तीन पटक विजयी हुने उहाँ दक्षिण एशियाकै पहिलो खेलाडी समेत बन्नुभएको छ । विश्वप्रख्यात सो प्रतिष्पर्धामा उहाँको विजयको अविच्छिन्न यात्रा जारी छ । गत वर्षको ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी घिमिरेले चुम्नुभएको थियो । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर बन्नुभएको थियो । जापानको नायोगा सहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा सम्पन्न ४९ औँ सस्करणको सो प्रतिस्पर्धामा अन्तराष्ट्रि«य बक्सर खेलाडी घिमिरेले जापानका व्यवसायिक किक बक्सर फुजीमुरालाई परास्त गर्नुभएको थियो । उहाँहरु दुवै ‘के वान के बक्सिङ् प्रतिष्पर्धा’ मा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुनुहुन्छ ।

‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध घिमिरेले सो प्रतियोगिता चुमेसँगै सामाजिक सञ्जाल मार्फत जितका लागि आफ्ना पिता अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरे, आयोजक सिमुरा डोजो सहित नेपाली खेलप्रेमिलाई सबैलाई धन्यवाद दिनुभएको छ । जापानको चर्चित सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको थियो । अविरलले सोही डोजो मार्फत आफ्नो प्रतिभा प्रस्फुटन गर्दै आएको छ।

प्रशिक्षक देवका अनुसार ७०केजी तौल समूहको ‘हिट फ्रोफेसनल किक बक्सिङ जित हासिल गर्नु आफैमा प्रतिष्ठाको विषय हो । उहाँका अनुसार खेलाडी अविरलले अब थप अन्तराष्ट्रिय प्रतियोगिता खेल्न बाटो खुला भएको छ । विसं २०७७ को चैतमा जापानको टोकियो सहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य अविरलले नै प्राप्त गर्नुभएको थियो । उहाँले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गर्नुभएको थियो । यसैगरी उहाँले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजीमाथि सहज जित हात पार्नुभएको थियो ।

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको थियो । नेपालको तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत हुनुभएको थियो । एक्काइस वर्षीय उनले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उहाँ विगत पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आउनुभएको छ ।

प्रकाशित मिति : February 27, 2022 at 5:22 pm