राष्ट्रिय फुटसल टोलीको प्रशिक्षण भोलिबाट, नेपाल कठिन समूहमा
१२ फागुन, काठमाडौं । कीर्गिस्तानमा आगामी अप्रिलमा आयोजना हुने एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमको प्रशिक्षण शुक्रबार (भोलि)बाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार दिन काठमाडौंंमा खेलाडीलाई सुरुआती प्रशिक्षण दिएर पोखरामा बन्दसत्र सुरु गर्ने जनाएको छ ।
प्रशिक्षक गौरव बस्नेतले ३२ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । सुरुआती चार दिनको प्रशिक्षण चुच्चेपाटीस्थित भाटभटेनी फुटसलमा हुनेछ । १ देखि १५ अप्रिलसम्म आयोजना हुने प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ । नेपाल सम्मिलित समूहमा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान जस्ता बलिया टोली छन् ।
प्रशिक्षक बस्नेत नेपालकाे समूह बलिया टिम रहेका र त्यसका बाबजुद पनि दोस्रो चरणमा स्थान बनाउन खेल्ने बताउँछन् । ‘समूहका तीनै विपक्षी बलिया छन् । हाम्रो लक्ष्य दोस्रो चरणमा स्थान बनाउन हुनेछ । त्यहि अनुसार तयारी गर्छाै ।’ उनले न्युज कारखानासँग भने । यस प्रतियोगिताबाट नेपालले पहिलो पटक फुटसल वरीयता पाउनेछ । फुटसल वरीयता पाउन कम्तिमा पनि आधिकारिक १० खेल खेलेको हुनुपर्छ । नेपालले यसअघि दुई पटक एएफसी फुटसलमा सहभागीता जनाएको छ ।
बन्द प्रशिक्षणमा परेका खेलाडीः
गोलकिपरः अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सन्जिब तामाङ, सुमितकुमार आले
फिक्सो (डिफेन्डर) : अरुज सिंह, विजय श्रेष्ठ, बिकु तामाङ, सरोज तामाङ
आला (मिडफिल्डर) : आदिल हमिद, अमित लामा, जेनिस प्रजापति, किरण चौधरी, कृजल खड्का, मणिकुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा
पिभोट (फरवार्ड): अबिनाश तामाङ, विक्रान्त नरसिंह राणा, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ
प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १५:०४