२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

‘अल्ट्रा ट्रेल’ रनिङ जितेपछि चर्चामा कर्णालीकी सुनमाया, यस्तो छ खेल यात्रा


-जितेन्द्र थापा

३० पुस, सुर्खेत । भनिन्छ नि, गरेपछि के सम्भव हुँदैन । जसको एक उदाहरण हुन् जुम्लाकी सुनमाया । उनको नाम यतिबेला विश्वभरी परिचित भएको छ । कर्णालीको दुर्गम जिल्ला जुम्लाको विकट ठाउँ पातरासी गाउँपालिकाको पेरे गाउँमा जन्मिएकी सुनमाया बुढा उमेरले अहिले २३ वर्षकी भइन् ।

केही समयअघि थाइल्याण्डमा सम्पन्न थाइल्याण्ड बाई युटीएमबी ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ प्रथम भएकी हुन् । सुनमायाले पुरुष–महिला तर्फको समग्र खेलमा तेस्रो स्थान हासिल समेत गरेकी छन् ।

धावक सुनमायाको यो जितसँगै उनको राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा चर्चा भइरहेको छ । थाइल्याण्डको च्याङ्ग माइमा भएको खेलमा एसियामा सबैभन्दा ठूलो ‘ट्रेल रेस’को रुपमा सञ्चालित छ । त्यहीको आयोजनामा गरिएको उक्त खेलमा सुनमाया महिला विधातर्फ ११० किलोमिटर लामो ‘ट्रेल रेस’ मा प्रथम भएकी थिइन् ।

सुनमायाले ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनट एक सेकण्डमा पूरा गरेकी थिइन् । नेपालकी चर्चित अल्ट्रा म्याराथन धाविका मिरा राईले १७ घण्टा १२ मिनट ४८ सेकेण्डको समय लगाएकी थिइन् । सुनमायाले राईभन्दा निर्धारित दूरी दुई घण्टा अगावै पूरा गरेकी थिइन् । महिलातर्फ नेपालकी मिरा राई दोस्रो भइन् भने थाईल्याण्डकी फिचामोन राक्साकुल तेस्रो भएकी थिइन् ।

सुनमायाको एउटा सामान्य किसान परिवारमा जन्म भएको हो । सुनमायाले कक्षा ७ मा अध्ययन गर्दागर्दै उनको ध्यान खेल र खेलाडी तिर तानियो । त्यसपछि सुनमायाले विद्यालय स्तरीय राष्ट्रिपति रनिङ शिल्डबाट खेलको यात्रा सुरुवात भएको बताइन् । सुनमायालाई झनझन् खेलप्रति रूची बढ्दै गयो ।

तर, सुनमायाको घरमा बुबा आमाको चाहना भनेको छोरीले सरकारी जागिरे हुनुपर्छ भन्ने थियो । जब सुनमायाले कक्षा १० को परीक्षा दिइन् । गाउँमा राम्रो शिक्षा सिकाई नहुने भएकाले सुनमायाले जिल्ला बाहिर गएर कुनै नयाँ विषय अध्ययन गर्ने प्रस्ताव घरमा राखिन् । तर, परिवारमा आर्थिक स्थिति कमजोर भएका कारण कुरा अन्तै मोडियो ।

सुनमाया भन्छिन्, ‘बाबा आमाले बाहिर पठाएर पढाउन सक्ने अवस्था थिएन । आर्थिक अवस्था कमजोर थियो । पढाउनुभन्दा बरु बिहे गर, उतै पढ्नु भन्नुभयो । मैले बिहे गर्दिनँ भनेर घरबाट कसैलाई नसोधेरै सदरमुकाम खलङ्गा गएको अहिले सम्झिन्छु ।’

सुनमायाको खेल यात्रा

अध्ययन गर्ने सपना बोकेर जुम्ला सदरमुकाम सिँजा पुगेकी सुनमाया कलेजभन्दा पनि खेलतिर बढी केन्द्रित भइन् । उनी भन्छिन्, ‘कलेज म एक दुई हप्ता मात्र गएँ । बाँकी समय पुरै रनिङ गर्न थालेँ । सुरुसुरुमा सबैले मलाई गेम नखेल पैसा आउँदैन भन्नुहुन्थ्यो । तर, महिले खेलप्रतिको चाहनालाई त्याग गर्नै सकिन । निरन्तर आफ्नो यात्रा तय गरिरहँ ।’

सुनमायाले विद्यालय स्तरमा हुने खेलमा समेत पुरस्कारहरू जितेकी छन् । यसअघिका विभिन्न दौडमा धरान म्याराथन, जुम्ला म्याराथन, व्रेथलेस रनिङ, एसएसआईजी, तेन्जिङ हिलारी, जुम्ला रारा अल्ट्रा, गोल्डेन वल्ड ट्रेल सिरिजमा सहभागी भएको र पदक जितेको सुनमायाले सुनाइन् ।

सुनमाया आफ्नो यहाँसम्मको यात्राको मुख्य श्रेय हरि रोकाया गुरुलाई दिन्छिन् । सुनमायाले गुरु जस्तै बन्नको लागि निरन्तर खेलतिरै लगाब राखिन् । उनी भन्छिन्, ‘गुरुले जति गेमहरू जित्नुभयो । म पनि गुरु जस्तै गेमहरू जित्नसक्छु नि भन्ने आँट गर्थे । त्यसैले महिले सन् २०१६ देखि रनिङ गर्न थालेकी थिएँ ।’

त्यसपछि पहिलो पटक ‘ट्रेल रेस’ मा सहभागी हुन काठमाडौंको गोदावरीमा गएको बताउँछिन् । त्यहाँ १२ किलोमिटरको ‘ट्रेल रेस’ समेत सुनमायाले जितेकी हुन् । उनलाई त्यतिबेला ‘ट्रेल रेस’को बारेमा खासै जानकारी थिएन् । तर, जुम्लाबाट सुनमायाका गुरु हरिले गेम खेल्न भनेर गोदावरी पठाए । सुनमायाले त्यो खेल जितेपछि त्यहीबाट नै आफ्नो ‘अल्ट्रा ट्रेल’ रेस रनिङको यात्रा तय भएको बताइन् ।

पढ्न पठाएको छोरी हाल यसरी खेलाडी बनेर आउँदा सुनमायामा बुबाआमा खुसी भएका छन् । ‘बुबआमा गाउँमै हुनुहुन्छ, खुसी हुँदै अझै राम्रो गर्नुपर्छ भनेर हौसला दिनुहुन्छ ।, हुन त यसअघि पनि मैले धेरै देशहरूमा खेल खेलिसकेको थिएँ’, भावुक हुँदै सुनमायाले भनिन्, ‘महिले देश बाहिर गएर धेरै खेलहरू पनि जितेकी छु । तर, कसैलाई थाहा हुँदैनथ्यो । एक्लै नेपालबाट बारिह जाँदा निकै पीडा हुन्थ्यो । मेरो घर त जुम्ला । अन्य खेलाडीहरूलाई बिदाइ गर्दा एरपोर्टमा फूलमाया लगाएर गरिन्थ्यो । मेरो त काठमाडौंँमा कोही हुनुहुन्थ्यो । कहिले काहीँ त एक्लो महसुस पनि हुन्थ्यो । एक्लै जाने आउने गर्थेँ ।’

दौडमा भाग लिएका देशहरू

सुनमायाले थाइल्याण्ड, स्विटजरल्याण्ड, हङकङ, चीन, फ्रान्स, इटाली, ओमान, मलेसिया, अस्ट्रेलिया लगायतका देशहरूमा आयोजित दौड प्रतियोगितामा सहभागिता जनाइसकेकी थिइन् । करिब ६ वर्षअघि ‘अल्ट्रा ट्रेल’ रनिङमार्फत डेब्यु गरेकी उनी अहिले विश्वसँग प्रतिस्पर्धा गरिरहेकी छिन् ।

सुनमायाको लगाव तथा दौडमा विश्वस्तरीय क्षमता देखेर नै एसियाकै प्रसिद्ध ‘द नर्थ फेस एडभेन्चर टिम’ले उनलाई पूर्णकालीन खेलाडीका रूपमा अनुबन्ध गरेको थियो । योसँगै सुनमायाले निःशुल्क प्रशिक्षण, पोषणयुक्त खाना, दौडसम्बन्धी सामग्री मात्र होइन, तलबसमेत पाउँछिन् ।

एसिया प्यासिफिक एडभेन्चर कम्पनीद्वारा सन् २००६ मा हङकङमा स्थापित साहसिक ‘कर्णाली स्पोर्ट्स क्लव’मार्फत सुनमायाले क्षेत्रीय दौड प्रतियोगिताहरूमा खेलेको अनुभव सुनाइन् । सन् २०१६ मा भएको १५२ किलोमिटरको मनास्लु माउन्टेन ‘ट्रेल रेस’मा प्रथम भएपछि भने उनीप्रति धेरैको ध्यान केन्द्रित भएको थियो ।

कर्णाली सरकारद्वारा सुनमायालाई सम्मान

गत सोमबार बिहान सुर्खेत विमानस्थलमा र त्यसपछि प्रदेश सरकारले स्वागत तथा सम्मानसमेत गरेको छ । सुनमायालाई सोमबार बिहान सुर्खेत विमास्थलदेखि मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो ।

उनको स्वागत गर्दै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले महत्वपूर्ण काम गरिरहेको बताए ।

साथै मुख्यमन्त्री शाहीले प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई प्रोत्साहनवापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको बताए । सुनमायालाई प्रदेश सरकारले दुई लाख रुपैंया पुरस्कार दिने निर्णय गरेको छ । न्युज कारखाना

प्रकाशित मिति : ३० पुष २०७८, शुक्रबार १५:०५