३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

माल्दिभ्सविरुद्ध नेपाल पुरुष भलिबल टोलीको बदला

११ पुस, काठमाडौं । घरेलु भूमिमा सन् २०१९ मा बेहोरेको हारको बदला लिँदै नेपाल पुरुष भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ ।

ढाकामा भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, हरि हजुर थापा, विनोद चन्दले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले माल्दिभ्सलाई सहजै पराजित गर्‍यो ।

नेपालले प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २७–२५ले आफ्नो नियन्त्रणमा राख्यो । दोस्रो सेटमा समेत माल्दिभ्सविरुद्ध दबाब बनाउँदै २५–१९ ले जित्यो । अन्तिम तथा निर्णायक सेटमा समेत आफ्नो लयलाई निरन्तरता दिँदै २५–२३ ले जित हात पार्‍यो ।

जितसँगै नेपालले घरेलु भूमिमा बेहोरेको सोझो सेटको बदला समेत लियो । जितपछि नेपालले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्न सम्भावना कायम छ ।

यसअघि प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाली टोली आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको थियो । त्यसपछिका खेलमा उज्बेकिस्तानलाई सोझो सेटमा हराए पनि श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा ४ खेल खेलेको नेपालले दुई जित र दुई हार बेहोर्दै ६ अंक जोडेको छ । आज नै भएको महिला तर्फको खेलमा उज्बेकिस्तानलाई सोझो सेटमा पराजित गर्दै महिला टोली फाइनल प्रवेश गरेको छ । २ खेल खेलेका बंगलोदेश र श्रीलंकाको समेत ६ अंक रहेको छ ।

प्रकाशित मिति : ११ पुष २०७८, आईतवार १८:०६