९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

फोरम चाँडै सरकारमा सहभागी हुन्छः नेता श्रेष्ठ

१ जेठ, पर्सा । नेकपा (माओवादी केन्द्र) पार्टीका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले आज संयुक्त रुपमा वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले फोरमलाई चाँडै सरकारमा सहभागी गराइने तर सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीसँग भने छलफल नभएको जानकारी दिनुभयो ।

पूर्वउपप्रधानमन्त्री श्रेष्ठले मधेशका विषयमा संसद्मा दर्ता भएको संशोधन प्रस्तावका पक्षमा माओवादी केन्द्रको अडान अहिले पनि कायम रहेको प्रष्ट पार्नुभयो । उहाँले समृद्धिकोे बाटालाई अंँगाली सामाजिक न्यायसहितको नेपाल निर्माण गर्न सरकार र सबै राजनीतिक दलको मुख्य कार्यभार भएकाले यसतर्फ सबैले ध्यान केन्द्रित गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्ने क्रममा मुलुकभित्रको विषयलाई विदेशीका अगाडि राख्ने तरीका दुःखद् भएको टिप्पणी गर्नुभयो ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार १२:१६