१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा अग्रसर छौं : प्रधानमन्त्री ओली

१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा अग्रसर रहेको बताएका छन् । उनले राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको बताएका छन् ।

वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले जनताको समृद्धि सुख र खुसीसँग जोडिएको बताएका हुन् ।

‘हामी नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अव्यवस्थाबाट सदाचारतिर अघि बढाउँदै छौं । यसबाट समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षा पूरा हुनेछ । जनताको जीवनमा खुसी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्नेछ । त्यस्तो सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक ब्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘ज्ञानकी प्रतीक मानिने सरस्वतीको जन्मजयन्तिका रुपमा मनाइने वसन्तपञ्चमीका अवसरमा समस्त दिदीबहिनी–दाजुभाइहरुमा त्यस्तो प्रज्ञाप्रकाश प्राप्त हुन सकोस्, वसन्त पञ्चमीको हार्दिक शुभकामना ।’

आजको दिनलाई बालबालिकाको अक्षरारम्भ गर्ने दिवसका रुपमा पनि लिइन्छ । वेदाङ्‌ग ज्योतिषकालदेखि सनातन रुपमा मनाइदै आएको यस पर्वको प्राकृतिक काल विभाजनसँग पनि सम्बन्ध छ । जसअनुसार एक वर्षलाई ६ ऋतुमा विभाजन गरी माघ शुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रुपमा लिइएको हो ।

वसन्तऋतुलाई श्रृष्टिकारक तथा मनोविनोदको ऋतुका रुपमा पनि लिइन्छ । वसन्त सुरु भएपछि फूलहरूमा बहार आउँछ, पुष्पसुगन्ध फैलिन्छ, रुखहरुमा पालुवा पलाउन थाल्छ र मानिस, चराचुरुङ‌्‌गी र रंगीन पुतलीहरुको मन फुरुंग हुन्छ भन्ने विश्वास छ ।

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको आराधना गरिँदै

प्रकाशित मिति : 07:30