१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

आज श्रीपञ्चमी, बालबालिकालाई अक्षरारम्भ गराइँदै

१६ माघ, काठमाडौं आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आरधना गरी मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको आराधना गरी मनाइन्छ ।

उसो त आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । आजको दिनमा सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास  छ । आजको दिन देशभरका सरस्वती मन्दिर, शिक्षालयमा सरस्वतीको पूजा गर्नेको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । साथै नाक-कान पनि आजैका दिनमा छेडिदिने चलन पनि छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् । तान्त्रिकहरू तन्त्र सिद्धिका लागि आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने विश्वास छ ।

आजैको दिनमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । अहिले बिहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्ने कार्यक्रम छ ।

सरस्वती स्त्रोत्रम्

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।१।।

प्रथमं भारती नाम द्वितीयं च सरस्वती।।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।२।।

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।।
सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी।।३।।

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी।।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।४।।

द्वादशै तानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः।।
जिव्हाग्रे वसते तम्य ब्रह्मारुपा सरस्वती।।५।।

प्रकाशित मिति : 06:34