अग्नि सापकोटाविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदै
१३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको सुनुवाइ आज हुने भएको छ । हिजो हेर्न नमिल्ने भएपछि आजका लागि पेसी तोकिएको थियो ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा हिजो (आइतबार) पेसी तोकिएको थियो । तर सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानुन व्यवसायीका हैसियतले बहस गरेको हुनाले हिजो मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानुनको गम्भीर उल्लंघन हुने जनाउँदै सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो । यसैगरी, सापकोटालाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई कारबाही गर्न र सापकोटाको विषयमा विशेष छानबिन समिति बनाउने आदेश दिन पनि रिटमा माग गरिएको छ ।

निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिए पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुंगो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।
तर, हिजै प्रतिनिधिसभाले सभामुखको निर्वाचन प्रक्रिया पूरा गरी सापकोटालाई सभामुखमा निर्वाचितसमेत गरिसकेको अवस्था भए पनि सोही रिट निवेदनको सुनुवाइ आज हुने भएको छ ।
यता रिटको सुनुवाइको तयारी चलिरहँदा सभामुखमा निर्वाचित सापकोटाको शपथग्रहणका लागि उता शीतलनिवासले पनि तयारी गरिरहेको छ । नवनिर्वाचित सभामुख सापकोटाको शपथग्रहण पनि आजै हुँदै छ ।
नवनिर्वाचित सभामुख सापकोटा काभ्रेका अर्जुन लामाको अपहरण तथा हत्याका आरोपी हुन् । २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माविका व्यवस्थापन समिति अध्यक्ष लामालाई अपहरण गरेर हत्या गरेको उनीमाथि आरोप छ । यससम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।
सभामुखमा अग्नि सापकोटा निर्विराेध निर्वाचित
राष्ट्रपति भण्डारीबाट शपथ लिँदै नवनिर्वाचित सभामुख सापकोटा
प्रकाशित मिति : 07:33







