आर्थिक विकास र समृद्धिका लागि प्रेसकाे भूमिका महत्वपूर्णः राज्यमन्त्री बाँस्कोटा
२४ वैशाख, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तेस्रो राष्ट्रिय पत्रकारिता दिवस– २०७५ का अवसरमा सम्पूर्ण प्रेसजगत्, आमसञ्चारकर्मी तथा आमसञ्चार क्षेत्रमा क्रियाशील संघसंस्थामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज दिनुभएको एक सन्देशमा सञ्चार राज्यमन्त्री बाँस्कोटाले नेपालमा लोकतन्त्र र नागरिक अधिकारप्राप्तिको आन्दोलनमा प्रेस जगतले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ । सन्देशमा उहाँले संविधानप्रदत्त प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सूचना तथा सञ्चारको हकलगायत सूचना र सञ्चारसम्बन्धी मौलिक हकको कार्यान्वयनमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राज्यमन्त्री बाँस्कोटाले संविधानमा व्यवस्था गरिएअनुसार मुलुक तीनै तहको निर्वाचन सम्पन्न गरेर राजनीतिक स्थायित्वको बाटोमा अघि बढेको र संविधानले परिकल्पना गरेको समाजवादउन्मुख दिशामा मुलुकलाई अगाडि बढाउन देशले आर्थिक विकास र समृद्धि हाँसिल गर्नैपर्ने भएकाले यसमा आमसञ्चार र प्रेस जगत्को सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले प्रेस जगत्ले सत्य र विश्वसनीय सूचना प्रवाहद्वारा राष्ट्रिय मुद्दामा सकारात्मक जनमत निर्माण गरी मुलुकको आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणमा योगदान गर्न सक्ने बताउँदै यस अवसरमा जिम्मेवार र मर्यादित पत्रकारितामार्फत मुलुक र जनताको हितमा सरकारलाई सही दिशामा अघि बढ्न निरन्तर सुझाव र सहयोग प्रदान गर्न प्रेस जगत्लाई आह्वान पनि गर्नुभएको छ ।
प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार ०७:४९