तीन महिनामा जीवन बीमा कम्पनीले संकलन गरे १२ अर्ब ७५ करोड बीमाशुल्क, कुनको कति ?
१९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ जीवन बीमा कम्पनीले कुल १२ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिमा संकलन भएको ९ अर्ब ५४ करोड ९ लाख रुपैयाँको तुलनामा ३३.६७ प्रतिशतले बढी हो।
प्रथम बीमाशुल्क संकलनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३ अर्ब १५ करोड १२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ७० करोड ७९ लाख रुपैयाँ संकलन गरेको थियो।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले २ अर्ब ११ करोड ३१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ संकलन गरेको थियाे । त्यस्तैगरी, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ८८ करोड ८८ लाख रुपैयाँ, एलआईसी नेपालले ८१ करोड ३९ लाख रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सले ७७ करोड २३ लाख रुपैयाँ संकलन गरेका छन् ।
आईएमई लाइफले ७३ करोड ९४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। हिमालयन लाइफले ६९ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ भने एशियन लाइफले ६७ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेकाे छ। त्यस्तै सानिमा रिलायन्स लाइफले ६४ करोड २२ लाख रुपैयाँ संकलन गरेको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६० करोड ९८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५५ करोड १४ लाख रुपैयाँ संकलन,मेट लाइफले ४६ करोड ९९ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले ३३ करोड २० लाख रुपैयाँ संकलन गरेको छ।
साथै, राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३० करोड ३६ लाख रुपैयाँ मात्र प्रथम बीमाशुल्क संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ४६ लाख रुपैयाँ संकलन गरेको थियो।
प्रकाशित मिति : November 5, 2026 at 1:16 pm










