स्रोत नखुलेको ३० लाख नगदसहित दुई जना पक्राउ
१९ कात्तिक, रौतहट । स्रोत नखुलेको नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ईशनाथ नगरपालिका-४ महुलिया काली मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ३० लाख रूपैयाँ सहित भारत बिहार राज्य पूर्वी चम्पारन ग्राम फुलबरिया-१३ बस्ने ३० वर्षीय सनि कुमार जैसवाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मठिया मौलियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०५-००१ प ०५७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त नगद गौर नगरपालिका-१ स्थित न्यू तराई ट्रेडर्सका संचालक ५१ वर्षीय शेख कमरूललाई दिन ल्याएको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त ट्रेडर्स तलासी गर्दा स्रोत नखुलेको नगद १४ लाख ६४ हजार ६ सय ५ रूपैयाँ फेला पारी शेखलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : November 5, 2026 at 12:02 pm










