उप-चुनाव : ५२ पदका लागि मतदान जारी, केही ठाउँमा विस्फोट
१४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह उप-चुनावअन्तर्गत अहिले मतदान भइरहेका छन् । अधिकांश क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेका छन् । केही स्थानमा भने बम विस्फोटका घटना भएका छन् ।
मतदान सुरु भएसँगै पोखरा महानगरपालिकाका ३ स्थानमा बम बिस्फोट भएको छ । विस्फोटपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । वडा ९ मा रहेको नवप्रभात मावि केन्द्र, वडा ६ को शान्ति मावि केन्द्र र सरस्वती मावि केन्द्रमा बिस्फोट भएको हो ।

सबैभन्दा बढी क्षति नवप्रभात माविमा भएको छ । बिस्फोटपछि लाइनमा बसेमा मतदाता त्रसित भएका थिए । जस कारण आधा घण्टा मतदान स्थगित भएको थियो । अहिले भने मतदान नियमित भइरहेको छ ।
यस्तै लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्षका लागि मतदान भइरहेको कान्ति मन्दिर मावि केन्द्रनजिकै बिस्फोट भएको छ । अहिले यो क्षेत्रको अहिले सुरक्षा व्यवस्था कडा बनाइएको छ भने मतदान निर्वाध रुपमा भइरहेको छ ।
यस्तै डोटीको आदर्श गाउँपालिका २ मा भइरहेको मतदान केन्द्र लक्षित गरी राखिएको २ वटा बम प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार गएराति एउटा र आज बिहान एउटा बम फेला परेको हो । दुवै बम भने निस्क्रिय पारिसकेको प्रहरीको भनाइ छ । प्रहरी, सेना र सशस्त्र प्रहरीको टोलीले विस्फोटमा संलग्नहरुको खोजी गरिरहेको छ ।
प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका ४८ (प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष) सिटका लागि मतदान भइरहेको हो । उप-चुनावमा ३७ जिल्लाका ४ लाख ५४ हजार १ सय १४ मतदाता छन् । मतदान अहिले बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।
उप-चुनाव आज : ५२ पदका लागि मतदान जारी
उप-चुनाव : यातायातमन्त्री नेम्वाङले गरे मतदान
प्रकाशित मिति : 11:44







