१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

उप-चुनाव आज : ५२ पदका लागि मतदान जारी

१४ मंसिर, काठमाडौं प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह उप-चुनावअन्तर्गत अहिले मतदान सुरु भएको छ । प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका ४८ (प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष) सिटका लागि मतदान भइरहेको हो ।

उप-चुनावमा ३७ जिल्लाका ४ लाख ५४ हजार १ सय १४ मतदाता छन् । मतदान अहिले बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।

निर्वाचन आयोगका अनुसार तोकिएको समयभित्र मतदान केन्द्रमा उपस्थित मतदाताले मतदान गर्न पाउनेछन् । मतदान सकिएपछि निर्वाचन अधिकृतले सबै मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरेपछि गणना हुनेछ ।

उप-चुनावअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र २, प्रदेशसभा सदस्यका लागि भक्तपुर निर्वाचन क्षेत्र १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा मतदान हुनेछ । यसैगरी स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुख, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान भइरहेका हुन् । विभिन्न गाउँपालिका तथा नगरपालिकामा रिक्त वडाध्यक्षका ४३ स्थानका लागि मतदान भएको हो ।

उप-चुनावमा प्रतिनिधिसभा सदस्यका लागि ११, प्रदेशसभा सदस्यका लागि १५ र स्थानीय तहका विभिन्न पदका लागि २० राजनीतिक दल सहभागी भएका छन् ।

मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने
मतदाताले मतदाता परिचयपत्र देखाएर मतदान गर्न पाउनेछन् । तर आयोगले अन्तिम मतदाता नामवलीमा नाम समावेश भएका तर मतदाता परिचयपत्र नभएका मतदातालाई फोटोसहितको सरकारले जारी गरेको परिचय खुल्ने कागजका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : 07:38