२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

आगामी आर्थिक वर्षमा पाँचलाख युवालाई राेजगारी: श्रममन्त्री विष्ट

१५ असार, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकभित्र रोजगारीको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा रहेको र त्यसलाई औपचारिक गराउनु चुनौतीपूर्ण रहेको बताएका छन । आइतबार मन्त्रालयद्वारा आयाेजित राष्ट्रिय श्रम तथा राेजगार सम्मेलनकाे उद्घाटन कार्यक्रममा मन्त्री विष्टले प्रविधिको विकास, जलवायु परिवर्तन, जनसाङ्खिकी परिवर्तनले विश्वको श्रम बजारलाई समेत नयाँ ढङ्गले प्रभावित पारेको उल्लेख गर्दै उहाँले बढ्दो चुनौतीलाई समाधान गर्न विश्वव्यापी र देशभित्र नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल सरकारले आगामी आवमा कम्तीमा थप पाँच लाख जनशक्तिलाई नयाँ रोजगारी पैदा गर्ने घोषणा गरेको उल्लेख गर्दै मन्त्री विष्टले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा निजी र सहकारीको संयुक्त प्रयत्न र समन्वयमार्फत रोजगारीका अवसर सिर्जना गर्न सम्भव हुने बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकले सम्मेलनमार्फत देशभित्र नै रोजगारीको सम्भावना पहिचान हुनसके देशभित्रै रोजगारीको अवसर सिर्जना भई सबै नागरिक रोजगार हुन सहयोग मिल्ने बताए । तत्कालका लागि वैदेशिक रोजगार अनिवार्य बाध्यता बन्दै गएको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीलाई आन्तरिक रोजगारीले प्रतिस्थापन गर्नुपर्ने विचार राखे ।

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालमा रोजगारको बजार र आयको अवस्था, कार्य संस्कृति र श्रमको मर्यादा, नेपालमा युवा उद्यमशीलता, रोजगारीका लागि सीप, रोजगारी तथा सूचना प्रविधि र श्रम उत्पादनशीलता तथा राष्ट्रिय अर्थतन्त्र विषयमा विचारविमर्श हुने जानकारी दिए ।

प्रकाशित मिति : June 30, 2019 at 2:53 pm