प्रतिपक्षसँग मिलेर मुलुक बनाउने अभिलाषा छः प्रधानमन्त्री ओली
१५ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षसँग मिलेर मुलुक बनाउने सरकारको उत्कृट अभिलाषा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देश साझा हो, प्रतिपक्षसँग मिलेर काम गर्नुपर्छ । प्रतिपक्षलाई सरकार नराम्रो लागेको होला, देश विकासमा सरकार र प्रतिपक्षी नभनी सँगै जाऊँ । सरकारले नेपाली जनतालाई गरीबी, अभावको अवस्थाबाट मुक्त गर्न चाहेको उहाँले बताउनुभयो ।
“अब हामीले भावी सन्ततिलाई यही गरीबीको सामना गर्ने परिस्थति हस्तान्तरण गर्ने होइन”, प्रधानमन्त्रीले भन्नुभयो, “म मेरो कार्यकालभित्र अधिकतम सकारात्मक परिणाम ल्याउँछु, मैले सरकार छाड्दा सकारात्मक परिणाम छोड्छु । परिवर्तन ल्याएर छाड्ने सङ्कल्प गर्छु ।” सम्मेलनमा श्रम, रोजागरीका क्षेत्रका समस्याको पहिचान र समाधानसमेतको सुझाव प्रस्तुत गर्ने तहमा छलफल हुने प्रधानमन्त्रीको विश्वास थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकभित्र रोजगारीको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा रहेको र त्यसलाई औपचारिक गराउनु चुनौतीपूर्ण रहेको बताउनुभयो । प्रविधिको विकास, जलवायु परिवर्तन, जनसाङ्खिकी परिवर्तनले विश्वको श्रम बजारलाई समेत नयाँ ढङ्गले प्रभावित पारेको उल्लेख गर्दै उहाँले बढ्दो चुनौतीलाई समाधान गर्न विश्वव्यापी र देशभित्र नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल सरकारले आगामी आवमा कम्तीमा थप पाँच लाख जनशक्तिलाई नयाँ रोजगारी पैदा गर्ने घोषणा गरेको उल्लेख गर्दै उहाँले यो सङ्घ, प्रदेश र स्थानीय सरकार तथा निजी र सहकारीको संयुक्त प्रयत्न र समन्वयमार्फत रोजगारीका अवसर सिर्जना गर्न सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकले सम्मेलनमार्फत देशभित्र नै रोजगारीको सम्भावना पहिचान हुनसके देशभित्रै रोजगारीको अवसर सिर्जना भई सबै नागरिक रोजगार हुन सहयोग मिल्ने बताउनुभयो । तत्कालका लागि वैदेशिक रोजगार अनिवार्य बाध्यता बन्दै गएको उल्लेख गर्दै उहाँले वैदेशिक रोजगारीलाई आन्तरिक रोजगारीले प्रतिस्थापन गर्नुपर्ने विचार राख्नुभयो ।
आन्तरिक रोजगारीलाई बढाउँदै लैजाने, औद्योगिकीकरणलाई बढावा दिँदै वैदेशिक लगानीलाई सुनिश्चित गरेर जानु जरुरी रहेको नेता लेखकको भनाइ थियो । नेता लेखकले भन्नुभयो, “नेपाल सरकारले अगाडि बढाउने प्रत्येक सकारात्मक कार्यमा नेपाली काङ्ग्रेसले सहयोग गर्छ ।” श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालमा रोजगारको बजार र आयको अवस्था, कार्य संस्कृति र श्रमको मर्यादा, नेपालमा युवा उद्यमशीलता, रोजगारीका लागि सीप, रोजगारी तथा सूचना प्रविधि र श्रम उत्पादनशीलता तथा राष्ट्रिय अर्थतन्त्र विषयमा विचारविमर्श हुने बताउनुभयो ।रासस
प्रकाशित मिति : 13:29









