२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रधानमन्त्री ओलीको अपिल, ‘बिरूवा रोप्ने ठाउँ नभए कौशीमा गएर गमलामा खुर्सानी रोप्नुस्’

१४ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी ओलीले बिरूवा रोप्ने ठाउँ नभए कौशीमा गएर गमलामा खुर्सानी रोप्न अपिल गरेका छन । शनिबार काठमाडौँ कोटेश्वर–कलङ्की चक्रपथ खण्डको कोटेश्वरमा वृक्षारोपण अभियानको सुरूवात गर्दै प्रधानमन्त्री ओलीले जसरी भए पनि वातावरण हरियाली बनाउने अभियानमा लाग्न अाम सर्वसाधरणलाइ अपिल गरे ।

प्रधानमन्त्रीले भने ‘सबैले आ–आफ्नो ठाउबाट वृक्षारोपण गरौं, ठाउको अभाव भए कौशीमा गएर एउटा गमलामा खुर्सानीको बोट भएपनि लगाऔं’, उहाले अगाडी भन्नुभयो,‘झोला बोकेर बजारतिर जानु भन्दा कौशीमै तरकारी लगाउने वातावरण सिर्जना गर्नुहोस् ।’ प्रधानमन्त्रीले अब सरकारले हरित सडक हरित वातावरण बनाउने अभियान तीव्रताका साथ सञ्चालन गर्ने बताए । उनले सबै नेपालीलाई आफुले सक्ने ठाँउमा वृक्षारोपण गरेर हरित वातावरण बनाउन सहयोग गर्न अपिल समेत गरे ।

प्रधानमन्त्री ओलीले वृक्षारोपणमात्रै गरेर छाड्ने प्रवृति अन्त्य गर्न समेत आग्रह गर्दै आज आफुले रोपेको वृक्षको जिम्मा लिन समेत अनुरोध गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नास्पातीको विरुवा रोपेर वृक्षारोपण कार्यक्रम औपचारिक उद्घाटन गरेका थिए । सरकारले आजदेखि देशभर वृक्षारोपण अभियान शुरु गरेको छ । एक वर्षमै ५ करोड विरूवा रोप्ने लक्ष्य राखिएको सरकारले जनाएको छ ।

सरकारले वृक्षरोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई सरिक हुन निर्देशन दिएको छ। यसैगरी प्रदेश तथा स्थानीय तह, समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आआफ्नो कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न सरकारले पत्राचार गरेको छ।

सरकारले लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रेका वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य बिरुवा रोप्ने निर्णयसमेत गरेको छ। प्रधानमन्त्री ओलीले गत वर्ष जुन ५ तारिखदेखि नै एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियान थाल्नु भएको थियो ।

प्रकाशित मिति : June 29, 2019 at 10:24 am