प्रधानमन्त्री ओलीलाई संसदमा समेत बोल्न दिएन कांग्रेसले, संसद बैठक भोलिसम्मका लागि स्थगित
३ असार, काठमाडाैँ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद बैठकमा बोल्न समेत अबरोध सिर्जना गरेको छ । प्रधानमन्त्रीले मंगलबार संसदमा गर्न लागेको सम्बोधन प्रतिपक्षी दल कंग्रेसको विरोधका कारण भोलि बुधबारसम्मका लागि रोकिएको छ । प्रधानमन्त्रीले संसदमा बोल्नुअघि नै कांग्रेस सांसदहरूले नाराबाजी सुरू गरेका थिए ।

कांग्रेस सांसदले आफ्नो भनाइ पहिला राख्नुपर्ने माग राख्दै संसद बैठकमा नाराबाजी गरेपछि प्रधानमन्त्रीको सम्बाेधन रोकिएको हो । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्न समय दिएलगत्तै कांग्रेसका सांसदहरु बसेको ठाउँबाट उठेर रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरिरहेका थिए ।

५ मिनेटसम्म पनि प्रतिपक्षी दलका सांसदले नाराबाजी गर्न नछाडेपछि सभामुख महराले बैठक स्थगित भएको गरे । अब अर्को बैठक बुधबार बस्ने गरी स्थगित भएको छ । कांग्रेसले प्रधानमन्त्रीलाई संसद बैठकमा समेत बोल्न नदिएको भनेर सामाजिक सञ्जालमा अालोचना सुरू भएको छ ।
प्रकाशित मिति : 12:47









