इनर्जी ड्रिंक्स सेवन नगर्न सरकारको अपिल
११ कात्तिक, काठमाडौं । सरकारले ऊर्जा पेय (इनर्जी ड्रिंक्स) सेवन गर्दा सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेको छ। विशेषगरी बालबालिका,गर्भवती तथा सुत्केरी महिला,मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न सुझाव दिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिंक्सको उत्पादन तथा बिक्रीवितरणसम्बन्धी विषयमा जानकारी दिँदै यस्तो आग्रह गरेको हो।
विभागका अनुसार इनर्जी ड्रिंक्स अल्कोहलरहित क्याफिनयुक्त पेय पदार्थ हुन् । यस्ता पेयमा मुख्य सामग्रीका रूपमा क्याफिन, ग्वाराना, ग्लुकुरोनोल्याक्टोन, टाउरिन, इनोसिटोल, कार्निटिन, बी–भिटामिन, चिनी, पानी तथा खाद्ययोग्य अन्य सामग्री प्रयोग गरिन्छ। विभागले यस्ता पेय पदार्थमा क्याफिनको मात्रा र उपभोगसम्बन्धी चेतावनीलाई गम्भीरतापूर्वक लिन उपभोक्तालाई आग्रह गरेको छ।
विभागले युरोपियन फुड सेफ्टी अथोरिटी (ईएफएसए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) लगायतका अन्तर्राष्ट्रिय संस्थाका अध्ययन तथा सिफारिसलाई उद्धृत गर्दै स्वस्थ वयस्कले एक दिनमा कुल ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्न सक्ने जानकारी दिएको छ।

यो मात्रा इनर्जी ड्रिंक्सबाट मात्रै नभई चिया, कफी, चकलेटलगायत क्याफिन पाइने सबै खाद्य पदार्थबाट प्राप्त हुने कुल मात्रासँग सम्बन्धित छ। त्यसैले इनर्जी ड्रिंक्स सेवन गर्दा अन्य स्रोतबाट प्राप्त हुने क्याफिनलाई समेत हिसाब गर्नुपर्ने विभागको भनाइ छ।
विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन्। उत्पादनको लेबल विवरण र प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार प्रतिक्यान १०० मिलिग्राम क्याफिन प्रयोग गरिएको पाइएको छ।
विभागले इनर्जी ड्रिंक्सको लेबलमा उल्लेख गरिएका चेतावनी र उपभोगसम्बन्धी निर्देशन पालना गर्न उपभोक्तालाई आग्रह गरेको छ। विशेषगरी बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेका महिला, मधुमेहका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिले ऊर्जा पेय सेवन नगर्न विभागले सुझाव दिएको छ। त्यस्तै, सेवन गर्न मिल्ने व्यक्तिले पनि एक दिनमा दुई क्यान (३३० मिलिलिटरका दुई क्यान अर्थात् ६६० मिलिलिटर) भन्दा बढी इनर्जी ड्रिंक्स नपिउन विभागले अनुरोध गरेको छ।
ऊर्जा पेयलाई पानी, जुस, दूध, मोहीजस्ता पौष्टिक पेय पदार्थको सट्टामा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न समेत विभागले आग्रह गरेको छ। विभागले इनर्जी ड्रिंक्सका उत्पादक तथा वितरकलाई उत्पादनको विज्ञापन, प्रचारप्रसार र बिक्रीवितरण गर्दा प्रचलित कानुन पालना गर्न निर्देशन दिएको छ।
उत्पादनको प्रचारप्रसार गर्दा सम्बन्धित निकायबाट आवश्यक अनुमति लिएर मात्रै काम गर्नुपर्ने तथा लेबलमा उल्लेख गरिएका चेतावनी र उपभोक्ताका लागि सुरक्षित मात्रासम्बन्धी जानकारी पनि प्रसारण गर्नुपर्ने विभागले जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने कार्यलाई प्राथमिकतामा राख्दै विभागले वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा खाद्य पदार्थको गुणस्तरसम्बन्धी विषयमा जानकारी सम्प्रेषण गर्न सरोकारवालालाई अनुरोध गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

प्रकाशित मिति : October 29, 2026 at 7:02 am










