९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

लोकसेवाको विज्ञापन सच्याउन सांसदको माग

–राजारामर / पूर्णप्रसाद
२ असार, काठमाडौँ । संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरुले माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि जोड दिनुभयोे । सांसद उमाशङ्कर अरगरिया, कलिला खातुन, गङ्गा चौधरी सत्गौवा, चाँदतारा कुमारी, चन्द्रकान्त चौधरीलगायतले यस्तो माग गर्नुभएको हो ।

सांसद खगराज अधिकारी र खेमप्रसाद लोहनीले गुठी विधेयक बाहिर चर्चा गरिएजस्तो धर्म र संस्कृति विरोधी नभएको बताउनुभयो । सांसद गणेशकुमारी पहाडीले सिन्धुलीको कमलामाईलगायत स्थानमा हात्तीले धनजनको क्षति प¥याएकाले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो ।सांसद गौरीशङ्कर चौधरीले नदीबाट गिट्टी बालुवा पूर्णरुपमा निषेध गरिँदा विकास निर्माणमा असर परेको बताउनुभयो ।

अर्का सांसद घनश्याम खतिवडाले उत्खनन गरिसकेका खोलामा अब ठेक्का नलगाउने व्यवस्था मिलाउन र मापदण्ड तोकेर मात्र नदीको उत्खनन गरिनुपर्नेमा जोड दिनुभयो । सांसद जुलीकुमारी महतोले गुठी विधेयकले धर्म र संस्कृतिलाई सभ्य बनाउन खोजेको बताउनुभयो । जनकपुरको गुठीमा धेरै अव्यवस्था रहेकाले त्यसको व्यवस्थापन गर्न यो विधेयक ल्याइएको उहाँको भनाइ थियोे ।

प्रकाशित मिति : 12:57