२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

गुठी विधेयक फिर्ता गर्नुपर्ने सांसदहरूकाे माग

३२ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका नेताहरुले हालै सरकारले ल्याएको गुठीसम्बन्धी विधेयक सरकारले फिर्ता गर्नुपर्ने माग गर्नुभएको छ । काठमाडौँमा नेवार समुदायले सञ्चालन गर्दै आएको गुठीको विधेयकको विरोधका आन्दोलन समयमै सम्बोधन नभए यसले भयावह रुप लिने बताउँदै उहाँहरुले समयमै उक्त विधेयक फिर्ता गर्न जोड दिनुभयो ।

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का नेता तथा सांसद रामवीर मानान्धरले नेवार समुदायको पुर्खाले स्थापना गरेको गुठीलाई तहसनहस बनाउन ल्याएको गुठी विधेयक फिर्ता गर्नुपर्नेमा जोड दिँदै गुठीप्रथालाई सामन्तवाद भनी सम्बोधन गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

रिपोर्टर्स क्लबमा आज आयोजित विशेष साक्षात्कारमा नेता मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडेकामा कडा आपत्ति जनाउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले सरकारले गुठी विधेयक फिर्ता नलिएसम्म काङ्ग्रेसले संसद् चल्न नदिने बताउनुभयो । कुनै पनि हालतमा विधेयक फिर्ता गर्नुपर्ने सांसद प्रधानको भनाइ थियो ।

साक्षात्कारमा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव गोविन्द टण्डनले गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको बताउँदै काठमाडौँ उपत्यकाका नेवार गुठीयारको सम्पत्तिको सम्मान गर्दै सरकारले उचित निर्णय गर्नुपर्ने विचार राख्नुभयो ।रासस

प्रकाशित मिति : June 15, 2019 at 9:03 pm