२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

जनताले प्रश्न गर्ने कुनै ठाउँ राख्दैनौँः मन्त्री अर्याल

३२ जेठ,स्याङजा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले जनताले प्रश्न गर्ने कुनै ठाउँ नराख्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वालिङ नगर कमिटीद्वारा वालिङमा आज आयोजित जनतासँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।

सरकारलाई यस वर्ष ऐन, नियम बनाउँदा समय लागेकाले चाहेजस्तो काम गर्न नसके पनि हालै सरकारले प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेटको प्रस्तुतिबाट प्रष्ट भएको बताउँदै उहाँले मुलुक अब समृद्धिको दिशामा अगाडि बढिसकेकाले कसैले चाहेर पनि रोक्न नसक्ने उल्लेख गर्नुभयो । सरकार नयाँ ढङ्गले अगाडि बढेको बताउँदै उहाँले सिद्धार्थ राजमार्गलाई त्रिदेशीय मेरुदण्डको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री अर्यालले आफूले पहल गरेर देशकै गौरव सगरमाथाको उचाइ पहिलोपटक नेपाल सरकारकै तर्फबाट नाप्ने कार्य गरे पनि केही मिडियाले अनावश्यकरूपमा हेलिकप्टरको खर्चका बारेमा नचाहिँदो हल्ला फैलाएको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, तपाईंहरू ढुक्क हुनुहोस् मैले जनताले प्रश्न गर्ने गरी कुनै काम गर्ने छैन । यसअघिका सरकारका मन्त्रीले जिल्लामा २० वर्षसम्म गरेको भन्दा आफूले एक वर्षमा बढी काम गरेको दाबी गर्दै मन्त्री अर्यालले विकासमा सबैको सहयोग र साझेदारी आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले गण्डकी प्रदेश सरकारले प्रदेशको विकासका लागि स्पष्ट नीति तथा कार्यक्रम बनाएर अगाडि बढेको बताउँदै जनताका चासो र आवश्यकतामा प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । सो कार्यक्रममा उपस्थित सर्वसाधारणले सडक, खानेपानी सिँचाइलगायत विकास निर्माणको माग गरेका थिए ।रासस

प्रकाशित मिति : June 15, 2019 at 8:40 pm