सातै प्रदेशका विद्यार्थी पढ्ने किस्पाङ बहुप्राविधिक शिक्षालयले टेकु अस्पतालसँग जोड्यो प्रयोगात्मक अभ्यास
३ असोज, काठमाडौं । नुवाकोटको किस्पाङ बहुप्राविधिक शिक्षालय र काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबीच स्वास्थ्य शिक्षातर्फ अध्ययनरत विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास सञ्चालन गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोला र किस्पाङ बहुप्राविधिक शिक्षालयका प्रमुख विनोद न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौतापछि किस्पाङमा सामान्य चिकित्सा तथा डिप्लोमा इन फार्मेसी अध्ययन गरिरहेका विद्यार्थीले टेकु अस्पतालमा स्वास्थ्य सेवासँग सम्बन्धित प्रयोगात्मक अभ्यासको अवसर पाउनेछन् ।
सम्झौतामा हस्ताक्षर गर्दै अस्पतालका निर्देशक डा. बास्तोलाले सर्वसुलभ शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिने उद्देश्यले सञ्चालन भएको किस्पाङ बहुप्राविधिक शिक्षालयमा सातै प्रदेशका ३६ जिल्लाबाट विद्यार्थी अध्ययनरत रहेको जानकारी पाउँदा आफूलाई खुशी लागेको बताए । ग्रामीण क्षेत्रमा स्थापना भएको शिक्षालयले देशका विभिन्न भूगोलका विद्यार्थीलाई स्वास्थ्य शिक्षा प्रदान गरिरहेको अवस्थामा त्यससँग सहकार्य गर्ने अवसर शुक्रराज अस्पतालका लागि पनि महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

उनले पवित्र उद्देश्यका साथ सञ्चालन भइरहेका यस्ता शिक्षालयसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै प्रयोगात्मक अभ्यासमार्फत विद्यार्थीलाई वास्तविक स्वास्थ्य सेवा प्रणालीसँग जोड्न सकिने बताए ।
किस्पाङ बहुप्राविधिक शिक्षालय किस्पाङ गाउँपालिका–३, काहुलेमा २०८० सालमा स्थापना भएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सम्बन्धनमा सञ्चालन हुँदै आएको शिक्षालयमा सुरुवात देखि नै सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको कार्यक्रम छ । दुवै कार्यक्रममा ४०–४० जनाको कोटा रहेको छ ।
शिक्षालयका प्रमुख विनोद न्यौपानेका अनुसार अहिले सातै प्रदेशका ३६ जिल्लाका २४२ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये नुवाकोटका ७८ र अन्य जिल्लाका १६४ विद्यार्थी रहेका छन् । ग्रामीण तथा पर्यटकीय क्षेत्रमा सञ्चालन भइरहेको शिक्षालयमा बाहिरी जिल्लाबाट आएका अधिकांश विद्यार्थी छात्रावास तथा आसपासका क्षेत्रमा बसेर अध्ययन गर्दै आएका छन् ।
किस्पाङ बहुप्राविधिक शिक्षालयको अर्को विशेषता यसको शुल्क हो । सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसी अध्ययनका लागि तीन वर्षको कुल शुल्क एक लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ । निजी शिक्षण संस्थाको तुलनामा न्यून शुल्कमा स्वास्थ्यसम्बन्धी प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले शिक्षालय सञ्चालन गरेको हो । गाउँपालिकाले स्वास्थ्यतर्फको बहुप्राविधिक शिक्षालय स्थानीय तहबाट सञ्चालन गर्ने आफू पहिलो भएको दाबी गर्दै आएको छ ।
किस्पाङ गाउँपालिकाको वार्षिक प्रगति प्रतिवेदनले पनि स्थानीय तहबाट किस्पाङ बहुप्राविधिक शिक्षालय सञ्चालनलाई गाउँपालिकाले गरेको अनुकरणीय तथा नमुनायोग्य अभ्यासका रूपमा उल्लेख गरेको छ । शिक्षालयको भौतिक पूर्वाधार विकासका लागि पनि गाउँपालिकाले निरन्तर लगानी गर्दै आएको छ ।
उता, विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नेपालको पुरानो स्वास्थ्य संस्था हो । अस्पतालको आधिकारिक विवरणअनुसार यसको स्थापना वि.सं. १९९० सालमा टेकुस्थित पाटीमा ‘कलेरा अस्पताल’का रूपमा भएको थियो । वि.सं. २००७ सालमा हालको स्थानमा सारिएको अस्पताल २०१९ सालमा ‘सरुवा रोग युनिट’का रूपमा वीर अस्पतालअन्तर्गत सञ्चालन भएको थियो । २०३४ सालमा वीर अस्पतालबाट छुट्टिएर स्वतन्त्र सरुवा रोग अस्पतालका रूपमा सञ्चालनमा आएको थियो ।

अस्पतालको नाम पनि विभिन्न चरणमा परिवर्तन हुँदै आएको छ । २०४२ सालदेखि ‘टेकु अस्पताल’का रूपमा परिचित भएको संस्थालाई २०५३ साल माघ ११ गतेदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामकरण गरिएको हो । हाल यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालित १०० शय्याको ट्रपिकल तथा सरुवा रोगसम्बन्धी राष्ट्रिय रेफरल अस्पतालका रूपमा देशभरका सेवाग्राहीलाई विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
किस्पाङ बहुप्राविधिक शिक्षालय र शुक्रराज अस्पतालबीच भएको यो सहकार्यले ग्रामीण क्षेत्रमा अध्ययन गरिरहेका स्वास्थ्यका विद्यार्थीलाई देशकै पुरानो तथा विशिष्टीकृत सरुवा रोग अस्पतालको प्रत्यक्ष कार्य वातावरणमा प्रयोगात्मक ज्ञान हासिल गर्ने अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ । यसबाट किस्पाङले उत्पादन गर्ने स्वास्थ्य जनशक्तिको व्यावहारिक क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने देखिन्छ ।
प्रकाशित मिति : September 19, 2026 at 11:38 am




