१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

वरियता उछिन्दै प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

२४ वैशाख, काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश डा। मनोज शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरिएको छ। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रस्तावित प्रधानन्यायाधीशका रूपमा अघि सारेको हो।

न्याय परिषद्ले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि ६ जना न्यायाधीशको संवैधानिक परिषद्‌मा सिफारिस गरेको थियो ।

नेपालको न्यायिक इतिहासमै पहिलोपटक वरिष्ठताको परम्परा तोड्दै चौथो वरियतामा रहनुभएका न्यायाधीशलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको हो। अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा शर्मा नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नेछन्।

हाल कामू प्रधानन्यायाधीश रहनुभएकी सपना प्रधान मल्ल, वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई उछिन्दै शर्माको नाम सिफारिस गरिएको हो।

शर्माले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक तथा पुणे विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । श्रम कानून विषयमा विद्यावारिधि गर्नुभएका शर्माले पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा पनि काम गनुभएको थियो ।

यसअघि चोलेन्द्रशम्सेर जबरा प्रधानन्यायाधीश रहेका बेला शर्मा सर्वोच्च अदालतमा सिफारिस भई संसदीय सुनुवाइबाट अनुमोदित हुनुभएको थियो ।

प्रकाशित मिति : 19:16