३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

होल्डिङ सेन्टरका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्न कार्यवाहक मेयर डंगोलको अनुरोध

२० वैशाख, काठमाडाैं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई आवासीय सुविधासहित नि:शुल्क शिक्षा प्रदान गर्न निजी तथा संस्थागत विद्यालयका संघ-संगठनलाई अनुरोध गर्नुभएकाे छ ।

बागमती नदी किनारामा बस्दै आएका बालबालिकाहरूलाई अहिले परिवारसहित राधास्वामी सत्संत व्यास आश्रममा सञ्चालित होल्डिङ सेन्टरमा राखिएको छ। त्यहाँ बस्दै आएका बालबालिकालाई आवासीय सुविधासहित शिक्षा प्रदान गरिदिन प्याब्सन र एनप्याब्सनलाई मेयर डंगोलले अनुरोध गर्नुभएकाे हाे ।

छलफलमा प्याब्सन र एनप्यासनका केन्द्रीय, जिल्ला र महानगर स्तरीय समितिका पदाधिकारी सहभागी थिए। ‘नदी किनाराका अव्यवस्थित बस्ती खाली गर्ने क्रममा अहिले बालबालिकाहरूलाई आवास सुविधा सहित निःशुल्क अध्ययन गराउन हामीले यस्तो सुविधा भएका निजी तथा संस्थागत विद्यालयहरूबाट सहयोगको अपेक्षा गरेका छौं,’ उनले भनिन्, ‘मलाई थाहा छ। तपाईंहरूले यावत प्रश्न छन्। हामीसँग ती प्रश्नहरूको जवाफ खोजीरहनु भएको छ। हामी ती प्रश्नको जवाफ दिन्छौं। तर, अहिले प्रश्नभन्दा माथि उठेर काम गर्नु पर्ने बेला हो। अव्यवस्थित बस्तीबाट होल्डिङ सेन्टरमा राखिएका बालबालिकाहरूको शिक्षाका लागि हामी सबैले मिलेर काम गरौं। उनीहरुलाई नियमित विद्यालय जाने अवसर प्रदान गरौं। हामी मिलौँ र बालबालिकाको सर्वोत्तम हितमा काम गरौं।’

प्रकाशित मिति : May 3, 2026 at 5:47 pm