१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न अदालतको अन्तरिम आदेश

२६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभा र निर्वाचन प्रक्रिया तत्कालका लागि रोक्न अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले बिहीबार रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।

चैत २२ गते नेपाल पेट्रोलियम ढुवानी महासंघले दायर गरेको रिटमा २३ गते न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा बिहीबारको इजलासले अन्तरिम आदेशसहित निरन्तरता दिएको हो।

अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म सम्बन्धित पक्षलाई यथास्थितिमा राख्न निर्देशन दिएको छ । योसँगै अन्तिम समयमा आएर महासंघको साधारण सभा र निर्वाचन प्रक्रिया प्रभावित बनेको छ । महासंघको साधारणसभा र निर्वाचन चैत २८ र २९ गतेका लागि तय भएको थियो ।

प्रकाशित मिति : April 9, 2026 at 5:20 pm