रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता नहुने
४ फागुन, काठमाडौँ । कास्की जिल्ला अदालतले रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ।
सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालयले मुद्दा संशोधन तथा फिर्ताका लागि दिएको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो। अदालतले महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेकाले सो विषयमा सर्वोच्चबाट अन्तिम आदेश नआएसम्म जिल्ला अदालतले मुद्दा फिर्ता गर्ने निर्णय गर्न नमिल्ने स्पष्ट पारेको छ।
इजलासले सर्वोच्च अदालतबाट हुने आदेश जिल्ला अदालतमा पेश भएपछि मात्रै आवश्यक निर्णय लिइने उल्लेख गरेको छ। यसअघि रूपन्देही जिल्ला अदालतले पनि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो।
महान्यायाधिवक्ताको कार्यालयले गत पुस ३० गते लामिछानेसहितका प्रतिवादीविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। उक्त निर्णयपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दर्ता गराएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारीले उक्त निर्णय गर्दै लामिछानेसहितका प्रतिवादी रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउनुभएकाे थियाे ।
लामिछानेविरुद्ध रूपन्देही, कास्की, काठमाडौँ र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएका छन्।
प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार २०:०८










