२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

१३ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भनेर परेको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको हाे । शाह झापा ५, बस्नेत भक्तपुर २, साम्पाङ सुनसरी १ र भुसाल रूपन्देही २ मा उम्मेदवार हुनुहुन्छ । बालेनले दिएका अभिव्यक्तिविरूद्ध आयोगमा उजुरी परेको थियो । साेही  विषयमा स्पष्टीकरण सोधिएको छ ।

निकोसल  भुसालले दुई वटा चुनाव चिह्न प्रयोग गरी प्रचार गरेको पाइएको भन्दै आयोगले चुनाव चिह्नसँग सम्बन्धित विषयमा स्पष्टीकरण सोधेको हो। जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्ह भनी प्रचार गरेको विषयमा स्पष्टीकरण सोधिएको छ । हर्क साम्पाङलाइ चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको लगायतको विषयमा स्पष्टीकरण सोधिएको छ ।

महेश बस्नेतलाई बालेन शाहले जनकपुरमा गरेको भाषणको केही शब्दलाई अनर्थ लगाउने गरी व्याख्या गरेको  र मधेसी समुदायलाई अपमानित हुने गरी घृणात्मक अभिव्यक्ति दिएको लगायतका विषयमा स्पष्टीकरण सोधिएको छ ।

भक्तपुर २ कै उम्मेदवार जानुका पाठकलाई पनि स्पष्टीकरण साधिएको छ । उनलाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको हो ।

यसैगरी, स्वास्थ्य स्वयमसेवक संघलाई पनि स्पष्टीकरण सोधिएको छ । अनुमति नलिइ आचारसंहिता लागूपछि अधिवेशन गरेको भनेर स्पष्टीकरण सोधिएको हो ।

प्रकाशित मिति : 12:39