१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

बालेन शाहको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी

१२ माघ, काठमाडाैं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति बालेनले दिएको अभिव्यक्तिविरुद्ध आयोगमा उजुरी परेको हाे ।

निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रिया विपरीत भ्रामक, घृणात्मक र मानहानिकारक अभिव्यक्ति दिएको भन्दै धर्मराज तिमिल्सिनाले  आयोगमा उजुरी दिनुभएकाे हाे ।

‘बालेन शाहले प्रयोग गरेका “७६ जना बच्चाको हत्यारा, आतङ्कवादी, देश जलाउने” जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप हुन् । यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको छ’ उजुरीमा भनिएको छ ।

यसैगरी, निवेदनमा महोत्तरी लगायतका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिने भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गर्दै सो कार्य पनि निर्वाचन आचारसंहिता विपरीत भएको  दाबी निवेदनमा गरिएको छ ।

प्रकाशित मिति : January 26, 2026 at 4:47 pm