२५ कार्तिक २०८२, मंगलवार | Tue Nov 11 2025

हिमपातले मुस्ताङको हिडन भ्यालीमा फसेका १५ पर्यटकको उद्धार

१४ कात्तिक, काठमाडौं । मुस्ताङको हिडन भ्याली क्षेत्रमा तीन दिनदेखि फसेका तीन जना बेलायती नागरिकसहित १५ जना पर्यटकको शुक्रबार सकुशल उद्धार गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गैरसैनिक पथ प्रदर्शकको संयुक्त टोलीले उनीहरूलाई ४ हजार ९०० मिटरको उचाइमा रहेको बतासे डाँडाबाट उद्धार गरेको हो ।

म्याग्दीदेखि धवलागिरी हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरी चक्रीय पदमार्गमा ट्रेकिङ गरिरहेका उनीहरू ११ कात्तिकदेखि हिमपातका कारण फसेका थिए ।

१२ कात्तिकमा मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणसहितको टोलीले याक खर्कमा बेस बनाइ उनीहरूको उद्धार प्रयास थालेको थियो । तीन दिनको अथक प्रयासपछि नेपाली सेनाको टोलीले शुक्रबार फेला पारी याक खर्कसम्म सकुशल उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १४:३५