३० कार्तिक २०८२, आईतवार | Sun Nov 16 2025

सार्वजनिक ऋणकाे दायित्व २७ खर्ब २४ अर्ब पुग्यो

१३ कात्तिक, काठमाडाैं । सार्वजनिक ऋणकाे दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो। आश्विन मसान्तसम्म आइपुग्दा यसमा ५० अर्ब ६० करोड रुपैयाँले वृद्धि भई हाल कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको हो। यो रकम कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.६१ प्रतिशत बराबर हुन्छ।

कुल सार्वजनिक ऋणमा आश्विन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत रहेको कार्यालयले जानकारी दिएको छ । ऋण व्यवस्थापनको कार्यालयकाअनुसार चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्न लक्ष्य राखिएकामा आश्विन मसान्त सम्ममा १ खर्ब ८४ करोड ऋण प्राप्ति भएको छ ।

वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति १६.९३ प्रतिशत रहेको छ । जसमध्ये वाह्य ऋण प्राप्तिको प्रगति क्रमशः २४.८६ र ४.६४ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र वाह्य ऋणको हिस्सा क्रमश ८९.२४ र १०.७६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा आश्विन मसान्तसम्म १ खर्ब ९ अर्ब ८९ करोड भुक्तानी भएको छ ।

यो वार्षिक बजेट विनियोजनको आधारमा २६.७४ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा आश्विन मसान्तसम्ममा कुल ऋण सेवा खर्च १.८० प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार १७:५५