विपिन जोशीका परिवारलाई २ लाख सहयोग गर्ने सुदूरपश्चिम प्रदेशको निर्णय
३ कात्तिक, काठमाडाैं । इसराइलमा हमासको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायता स्वरूप दुई लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको बताउनुभयाे ।
२०८० असोज २३ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदले हमासको आक्रमणमा ज्यान गुमाएका परिवारलाई जनही २/२ लाख रूपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको थियो।
उक्त निर्णय बमोजिम प्रदेश सरकारले मृतक सात जनाका परिवारलाई सहयोग गरेको थियो। तर सो समयमा विपीन जोशीको अवस्था अज्ञात थियो । गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।
विपिन सन् २०२३ अक्टोबर ७ मा सुदूरपश्चिम विश्वविद्यालयबाट बिएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका थिए। तीमध्ये १० जना नेपाली विद्यार्थीको इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएको थियो।
प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार १७:१०










