२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

गभर्नर पौडेलका लागि घर भाडामा दिने प्रस्ताव पेश गर्ने अवधि थप

२८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर डा.विश्वनाथ पौडेलका लागि भाडामा घर दिन चाहनेले प्रस्ताव दिनसक्ने अवधि थपेको छ।‌ जेनजी आन्दोलनका क्रममा गभर्नर पौडेलको घरमा तोडफोड तथा आगजनी गरिएपछि उहाँका लागि भाडाको घर खोज्नु परेको हो।

असोज १२ गते सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले गभर्नर पौडेलका लागि घर भाडामा सम्बन्धी प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । असोज २७ गतेसम्मको म्याद दिएर घर भाडाको लागि प्रस्ताव पेश गर्न भनिएकोमा उक्त दिनसम्म खोजेजस्तो घर भाडाका लागि प्रस्ताव पेश नभएपछि राष्ट्र बैंकले कात्तिक १६ गतेसम्म प्रस्ताव पेश गर्न म्याद थप गरेको हो ।

चाडपर्वको विदाको कारण समय अपुग हुने सक्ने भन्दै समय थपिएको राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ। गभर्नर पौडेलको निवासका लागि भैंसेपाटी नजिकै घर भाडामा लिन राष्ट्र बैंकले प्रस्ताव आह्वान गरेको हो। बैंकले इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको हो।

अहिले भाडामा लिन खोजिएको घर कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको हुनुपर्नेछ। कम्तीमा ५ वटा काररजीप पार्किङ गर्न मिल्ने, आर।सि।सि। स्ट्रक्चर सहित कम्तीमा १००० वर्ग फिट प्लिन्थ क्षेत्रमा निर्माण भएको, कम्तीमा एउटा मास्टर बेडरूम सहित ४ वटा बेडरूम, लिभिङ हल, किचेन, डाइनिङ हल तथा स्टोर रूम हुनुपर्ने, सुरक्षाकर्मी बस्ने छुट्टै भवनको व्यवस्था हुनुपर्नेछ ।

सुरक्षित कम्पाउन्ड वाल भएको र कालोपत्रे सडकसँग सिधा जोडिएको हुनुपर्नेछ।  त्यस्तै विजुली, ढल निकास र खानेपानीको राम्रो व्यवस्था भएको हुनुपर्नेछ।

प्रकाशित मिति : October 14, 2025 at 4:31 pm