२७ माघ २०८२, मंगलवार | Wed Feb 11 2026

भदौ २३ ले दिएको सन्देश ग्रहण गर्दै पार्टी संरचनामा रूपान्तरण गरौंः योगेश भट्टराई

९ असाेज, काठमाडाैं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले भदौ २३ को जेनजी विद्रोहले दिएको सन्देश ग्रहण गर्दै राज्य समाज र पार्टी संरचनामा बहुआयमिक रूपान्तरण गर्नुपर्ने बताउनुभएकाे छ ।

बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै भट्टराईले मुलुकलाई अनिश्चयको अँध्यारो सुरूङतिर लैजाने चिन्ताहरू व्याप्त रहेको र ती निराशा र अनिश्चय सम्बोधनको पहिलो शर्त राज्य समाज र पार्टी संरचनामा बहुआयमिक रूपान्तरण भएको बताउनुभएकाे हाे ।

‘भदौ २३ गतेको जेनजी आन्दोलन र भदौ २४ गतेको विध्वंसपछि तपाईं–हामी बिस्तारै आफ्नो दैनिकीमा फर्किरहेका छौं। तर यसले छोडेको असर भने युगौंसम्म रहनेछ। भदौ २३ गतेको आन्दोलनले हाम्रो राजनीतिक सत्ता र संरचनामा असाधारण बदलाब ल्याएको छ,’ भट्टराईले लेख्नुभएकाे छ, मुलुकलाई अनिश्चयको अँध्यारो सुरुङतिर लैजाने चिन्ताहरू पनि उत्तिकै छ। मलाई लाग्छ, ती निराशा र अनिश्चय सम्बोधनको पहिलो सर्त हो– भदौ २३ ले दिएको सन्देश ग्रहण गर्नु र त्यसमा अभिव्यक्त भावनाको वस्तुगत सम्मान गर्दै राज्य समाज र पार्टी संरचनामा बहुआयमिक रूपान्तरण गर्नु हो ।’

संकटका बेला आन्दोलन र पार्टी पुनर्गठन भएका थुप्रै उदाहरण रहेको पनि भट्टराईले उल्लेख गर्नुभएकाे छ । जस क्रममा १९ माघको घटनापछि एमालेकै पुनर्गठन भएको सन्दर्भ समेत उहाँले राख्नुभएकाे छ ।

‘१९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कू’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै सन्नटा छाएको थियो । त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसता लिएर पार्टी पुनर्गठनको बहस चलायो,’ उहाँले भन्नुभएकाे छ, ‘अन्ततः नेकपा एमालेको नवौं महाधिवेशनले पार्टी पुनर्गठनको एजेन्डा स्वीकार गर्‍यो । पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रूपमा स्थापित गर्‍यो । पार्टी बच्यो, आन्दोलन सफल भयो ।’

यस्ताे छ भट्टराईले गर्नुभएकाे एमाले पुनर्गठनको अपिल

आदरणीय जनसमुदाय
प्रिय कमरेडहरू,

‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाउनु हुने सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

भदौ २३ गतेको ‘जेनजी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछि तपाईँ–हामी बिस्तारै आफ्नो दैनिकीमा फर्किरहेका छौँ । तर यसले छोडेको असर भने युगाैंसम्म रहनेछ । भदौ २३ गतेको आन्दोलनले हाम्रो राजनीतिक सत्ता र संरचनामा असाधारण बदलाव ल्याएको छ ।

भदौ २४ को अकल्पनीय विध्वंसले हाम्रो आर्थिक संरचना भताभुङ्ग बनाएको छ, हाम्रो सामाजिक मानसपटलमा गहिरो दर्दहरू छोडी गएको छ, हामीले आजसम्म बचाएर ल्याएको सांस्कृतिक मूल्यहरूमा घाउ चोट लागेको छ । मुलुकलाई अनिश्चयको अँध्यारो सुरुङ्गतिर लैजाने चिन्ताहरू पनि उत्तिकै छ । मलाई लाग्छ, ती निराशा र अनिश्चय सम्बोधनको पहिलो शर्त हो, भदौ २३ ले दिएको सन्देश ग्रहण गर्नु र त्यसमा अभिव्यक्त भावनाको वस्तुगत सम्मान गर्दै राज्य समाज र पार्टी संरचनामा बहुआयमिक रूपान्तरण गर्नु अनिवार्य र पहिलो शर्त हो ।

भदौ २३ मा सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनको माग राखेर सडकमा उत्रिएका जेन–जीमाथि तीव्र दमन भयो । यो दमनको न्यायिक छानबिन हुनुपर्छ । एकातिर आफ्नो माग र भावनाहरूप्रतिको अपमान/ बेबस्ता गरिएको निष्कर्ष अर्कातिर आफ्ना निहत्था साथीहरूमाथि भएको बर्बर दमनप्रतिको आक्रोश । त्यही मौका छोपेर फरक फरक स्वार्थ बोकेका गलत समूहबाट भदौ २४ मा जेन–जी आन्दोलन दुरुपयोग भयो । आन्दोलनमा श्रृखलाबद्ध र संगठित घुसपैठ गरियो । आपराधिक गतिविधि भयो । हाम्रा राष्ट्रिय सम्पदा र सम्पत्तिहरूमा आगो झोसियो । निजी तथा व्यावसायिक संरचनामानमाथि आगजनी र तोडफोड गरियो । हाम्रा इतिहास र गौरव जोडिएका संरचनाहरू खण्ड भए । आफ्नो समयमा परिवर्तन र रूपान्तरणमा महत्त्वपूर्ण योगदान गर्नु भएका हाम्रा नेताहरूमाथि आक्रमण भयो, घर जलाइयो । यसले भदौ २३ गते जेन–जीहरूले पवित्र माग राखेर गरेको व्रिदोहलाई बदनाम र विद्रुप बनायो । विश्वसामु लज्जाबोधको अवस्था आयो। भदौ २४ गतेको अकल्पनीय विध्वंस देश र जेन–जीहरुको भावना र आदर्श विरुद्धमा थियो । यसको सत्यतथ्य छानबिन हुनुपर्छ ।

नेपालको पछिल्लो घटनाका बारेमा भूराजनीति र अन्तर्राष्ट्रिय शक्ति केन्द्रको भूमिको पनि चर्चा हुने गरेको छ । आज म त्यतातिर धेरै चर्चा गर्न चाहन्न । भोलीका दिनमा सबै कुरा उद्घाटित हुँदै जानेछन् । एउटा भनाई छ, ‘अर्कालाई दोष लगाउनु पूर्व आफ्नै थैली बलियो गरी कस्नु ।’ छिमेकी मित्र राष्ट्रहरू तथा अन्य मित्र राष्ट्रहरूलाई म भन्न चाहन्छु, ‘तपाईँहरूले नेपालको लोकतान्त्रिक प्रक्रिया र नेपालीहरूको विकासको चाहनालाई गर्दै आउनु भएको सहयोगप्रति धन्यवाद छ । तर आजको अस्थिर र अनिश्चयमा नेपाललाई प्रयोगशाला बनाउने प्रयास हुनेछैन भन्ने मेरो गहिरो विश्वास छ । संविधानको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्जीवनको लागि तपाईँहरूको सकारात्मक सद्भाव भने अपेक्षित छ ।’

कमरेडहरू,

हो, हाम्रा सामु एकातिर पीडाहरू छन्, हतासा छ, निराशाहरू छन्, अर्कातिर सिंगो एउटा पुस्ताको आक्रोश पनि । यो सँगसँगै आशा र अपेक्षाहरू पनि छन् । सबैभन्दा बढी प्रश्नहरू छन् । तपाईँहरूले आक्रोश र आशाको नजरले हामीलाई सोधिरहनु भएको छ, ‘अब तिमिहरूले हिँड्ने बाटो कुन हो ?’ बदलिन्छौँ की उस्तै बस्छौँ ?

मैले सामाजिक सञ्जाल हेरिरहेको छु, सञ्चार माध्यमहरू पढिरहेको छु । तपाईँहरूले हामीलाई सोधिरहनु भएको छ, ‘तिमिहरूसँग आत्मालोचना र स्वीकारोक्ति छैन ?’ आफ्ना कमजोरीहरूप्रति माफी माग्दैनौँ ? यसअघि पनि मैले भदौ २४, २५ र २८ गते सामाजिक सञ्जालमार्फत केही कुरा राखेको थिएँ । हो, असल प्रयास र प्रयत्नहरू जारी थिए । अनेक सीमा, अवरोध र अप्ठ्याराहरूको विचमा पनि प्रयासहरू प्रयत्नहरू जारी थिए भन्ने लाग्छ । तर सब ठिकठाक थिएनन् भन्ने पुष्टि २३ भदौले गरिसकेको छ । यो सत्यलाई हामीले स्वीकार गर्नुपर्छ । र हामीले भन्नुपर्ने हुन्छ, ‘बदलिएका आवश्यकता र अपेक्षाहरू पुरा गर्न सफल नभएकोमा हामी माफी चाहन्छौं ।’

यो बेला ‘नियन्त्रित अस्थिरता’का चिन्ताहरू पनि प्रकट भएका छन् । सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमान रक्षाको गहिरो चासो प्रकट भएका छन् । कतिपयहरूले व्यवस्थामाथिको प्रश्न पनि नउठाएका होइनन् । फेरि पनि त्यसको लागि संविधानको रक्षा पहिलो शर्त हो । हामीले जुन व्यवस्था अपनाएका छौँ, राजनीतिक दलहरू नै यसको समाधान हुन् । नयाँ पुस्ताको भावना र माग सम्बोधन सहित निर्वाचन मार्फत संविधानलाई ‘ट्र्याक’मा ल्याउनु हाम्रो पहिलो काम हो । केही परिमार्जन आवश्यक रहेछ भने पनि संविधानले देखाएको बाटो बाटै परिमार्जन गर्न सकिन्छ । तर, आज अत्यधिक सोधिएको प्रश्न हो, ‘यही राजनीतिक नेतृत्व, संरचना र मनोविज्ञानबाट सम्भव छ ?’ हामीप्रति आशाले हेरिरहनु भएका अधिकांश बुद्धिजीवी, नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुको भनाई छ, ‘अब पुनर्गठन विना सम्भव छैन । मार्क्सवादले भन्छ, ‘अवस्था बदलिएपछि चेतना पनि बदलिन्छ ।’ अवस्थामा बदलाव आएपछि मानिसको सोच, विचार, चेतना पनि उसैगरी बदलिन्छ । चेतना अवस्थासँगै विकसित हुन्छ र वर्ग संघर्षले यसलाई नयाँ स्तरमा पुर्‍याउँछ । अवस्था अभूतपूर्व रूपमा बदलिएको छ । भदौ २२ र आज उस्तै हुँदै होइन । आज हामी बिलकुल नयाँ चेतनामाथि उभिएका छौँ । दार्शनिक एन्टोनियम ग्राम्सी भन्छन्, ‘संकटको समयमा पुराना विचारहरू मर्छन् तर नयाँ जन्मिन हिचकिचाउँछन् यतिखेर आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्छ ।’

कमरेडहरू, ग्राम्सीले भने जस्तै अब नेकपा (एमाले)लाई, कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान कदापि गर्नु हुन्न । पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईँ–हामी पनि उहाँहरूसँगै थियौँ । यो जस–अपजसको भागीदार हामी पनि हौँ । त्यसैले म यो बेला भन्छु, ‘उहाँहरूको सम्मान सहित पुनर्गठन ।’ फेरि यहाँनिर पुनर्गठन र रूपान्तरणको बहस गरिरहँदा वर्तमान मूल नेतृत्वप्रतिको प्रहारको रूपमा जबरजस्ती कहीँ कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ । म तपाईँहरूलाई भन्न चाहन्छु, ‘कमरेडहरू, यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरूको सम्मान रहन्छ । इतिहास रहन्छ ।’ सम्झिनुहोस् त, दुनियाँको इतिहास । लेनिनका, मार्क्सका सालिकहरू ढालिएका इतिहास तपाई हामीले पढेका छौँ । हाम्रो नेताहरूको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जति बेला हाम्रो आन्दोलन रहन्छ । इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो । पुनर्गठन र रूपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरूमाथिको प्रश्न अथवा अपमानको रूपमा अर्थ लगाउनु सर्वथा गलत हो । बस्तुत: यो व्याख्या गर्नेहरू नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन् ।

हामीलाई थाहा छ, जब १९९१ मा सोभियत ढल्यो । सोभियत पतनले अन्तर्राष्ट्रिय स्तरमा कम्युनिष्ट आन्दोलन ठुलो संकट आयो । सोभियतको पतन कम्युनिष्ट आन्दोलनको अवस्थाको धेरै ठुलो परिवर्तन थियो । स्वाभाविक रूपमा चेतनाहरू पनि बदलिए । आन्दोलन रक्षात्मक भयो । त्यही बदलावपछि जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गर्नुभयो । नयाँ चेतनाको निर्माण भयो । र नेपाली कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको हो । २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कु’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै सन्नटा छाएको थियो । त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसरता लिएर पार्टी पुनर्गठनको बहस चलायो । अन्ततः नेकपा (एमाले)को नवौँ महाधिवेशनले पार्टी पुनर्गठनको एजेन्डा स्वीकार गर्‍यो । पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रूपमा स्थापित गर्‍यो । पार्टी बच्यो, आन्दोलन सफल भयो । नेतृत्वको सम्मान पुनर्स्थापित भयो । पार्टीमा नयाँ पुस्ताको प्रभावशाली प्रवेश भयो । हामी सबैले त्यो क्षणलाई पुन स्मरण गरौँ ।

त्यसैले कमरेडहरू, अहिले हामीले संविधानको रक्षा गर्नु छ, हाम्रो सार्वभौमिकता राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्नु छ । त्यसको लागि हामी सम्हालिएर नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलनको रक्षा गर्नु छ । आवेग वा आरोप, प्रतिशोध वा प्रतिरक्षामा होइन वस्तुगत अवस्थालाई स्वीकार गर्ने साहस गर्नुपर्छ ।

हाम्रो पार्टी, आन्दोलनलाई असाधारण योगदान गर्नु हुने तमाम नेता, कार्यकर्ता, बुद्धिजीवीहरू, आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरू, जसले हामीलाई आशाका नजरले हेरिरहनु भएका आम जनसमुदाय सबैलाई म भन्न चाहन्छु, ‘गल्ती र कमजोरीहरूबाट हामी सिक्नेछौँ । र पार्टी र आन्दोलनलाई पुर्नगठन गर्नेछौं ।’ मार्क्सले भन्नु भएको छ, ‘इतिहासमा कुनै पनि अवस्था स्थायी हुँदैन । निराशाको गर्भमै परिवर्तनको सम्भावना लुकेको हुन्छ ।’ यो निराशा र संकटको अवस्था स्थायी होइन । इतिहासमा हामीले ठुल्ठुला संकट र आँधीवेहरी पार गरेरै यहाँसम्म आएका हौँ । तर इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरूमा हामी पुर्नगठित भएको सत्यलाई पनि हामीले मनन गर्नु जरुरी छ । त्यही स्वीकारोक्ति सहितको अभियानको लागि अपिल समेत गर्दछु । आत्मभत्र्सना बन्द गरौँ, आत्मसमीक्षा डटेर गरौँ । भनिन्छ नि कमजोरी स्वीकार कमजोरहरूले गर्न सक्दैनन् । लेनिनले भन्नु भएको छ, ‘क्रान्तिकारी आन्दोलनले आफ्ना कमजोरीलाई स्वीकार नगरेसम्म सुधार र प्रगति सम्भव हुँदैन । कमजोरी लुकाउनु भनेको दुस्मनलाई बलियो बनाउन सहयोग गर्नु हो ।’ हामी एक्ला एक्लै होइन सँगै बसेर सामूहिक ढंगले समस्याको हल खोजौँ, खुला खुलस्त हौँ । सबैको अस्तित्व र भूमिकालाई स्वीकार गरौँ । हामी हाम्रो पार्टी र आन्दोलनको सहयोगी बन्ने समय हो यो, न की लेनिनले भने जस्तै अरू कसैको ।

योगेश भट्टराई
सचिव, नेकपा (एमाले)
मिति : ९ असोज २०८२
धन्यवाद ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १३:५५