१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

कांग्रेस सांसद निकालिएकोमा निश्कलको आपत्ति, सभामुखले दिए यस्तो जवाफ

१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सांसद गीता सेन्दाङलाई मर्यादापालकले बैठक कक्षबाट निकालेकोप्रति आपत्ति जनाएको छ।नेपाली कांग्रेसका सांसद निश्कल राईले सभामुखको आदेश विपरीत आफ्नो पार्टीका सांसद सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालिएको भन्दै नियमापत्ति जनाए ।

उनले भने, ‘सभामुखको आदेशबिना नै हाम्रो पार्टीको सांसदलाई तीन जना मर्यादापालकले घेरेर बाहिर निकालेको छ। नियमावलीमा फोटो खिच्न र भिडियो खिच्न पाइँदैन भन्ने व्यवस्थाबारे जानकारी छ। तर सभामुखको आदेशबिना गरिएको गतिविधि यो सदनमा सह्य हुँदैन।’

कांग्रेसको आपत्तिपछि सभामुख डोलप्रसाद अर्यालले सेन्दाङले सभामुखको आसनतर्फ मोबाइलबाट फोटो र भिडियो खिचेको सम्बन्धमा जाँच गर्न मर्यादापालकलाई निर्देशन दिएको जनाए । “उहाँ (सेन्दाङ) लाई बैठकबाट बाहिर निकालिएको होइन,” सभामुख अर्यालले भने।

उनले भने, ‘निश्कल राईले उठाएको विषयमा ध्यानाकर्षण भएको छ। सदन चलिरहेको बेला गीताकुमारी सेन्दाङले सभामुखतर्फ देखिने गरी मोबाइलबाट फोटो र भिडिओ खिच्ने प्रयास गर्नुभयो। त्यो सभा सञ्चालन मर्यदाविपरीत थियो। सभामुखले मर्यादापालकलाई फोटो, भिडियो खिचिएको छ कि छैन हेर्न निर्देशन दिएको हो। चेकजाँच गरिएको हो, बाहिर निकालिएको छैन। विषय तोडमोड नगर्न ध्यानाकर्षण गराउँछु।’

प्रकाशित मिति : May 26, 2026 at 5:57 pm