१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

१३ जेठ, काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार, यातायात तथा सञ्चार क्षेत्रमा पछिल्ला वर्षमा लगानी विस्तारसँगै सडक सञ्जाल, रणनीतिक मार्ग तथा डिजिटल पहुँचमा उल्लेख्य प्रगति भएको देखिएको छ ।

आर्थिक सर्वेक्षण २०८२/८३ ले सडक निर्माण, राष्ट्रिय गौरवका आयोजना तथा सञ्चार पूर्वाधार विस्तारमा प्रगति भएको देखाएको छ । सर्वेक्षणअनुसार सङ्घीय सरकारबाट निर्मित कालोपत्रे सडकको घनत्व १३८.७ मिटरप्रति वर्ग किलोमिटर पुगेको छ । साथै डिजिटल टेलिभिजनको पहुँच ८२ प्रतिशत घरधुरीसम्म पुगेको छ भने मोबाइल टेलिफोन ग्राहकको घनत्व जनसङ्ख्याको १०३.२ प्रतिशत पुगेको छ ।

विसं २०८२ फागुनसम्म रणनीतिक तथा स्थानीय सडक सञ्जाल गरी कूल ३६ हजार ८०६ किलोमिटर सडक निर्माण भएको छ । यसमध्ये २० हजार ४५६ किलोमिटर कालोपत्रे, सात हजार ६०२ किलोमिटर ग्राभेल र आठ हजार ७४८ किलोमिटर कच्ची सडक रहेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कूल सडक लम्बाइ ३६ हजार २२६ किलोमिटर रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा ३०१ किलोमिटर नयाँ कच्ची सडक निर्माण भएको थियो भने एक हजार २३५ किलोमिटर सडक कालोपत्रस्तरमा स्तरोन्नति गरिएको थियो । चालु आर्थिक वर्षको फागुनसम्म ७६ किलोमिटर नयाँ सडक निर्माण, ४१३ किलोमिटर सडक कालोपत्रे स्तरोन्नति तथा १०२ पुल निर्माण सम्पन्न भएका छन् ।

राष्ट्रिय गौरवका आयोजनामा पनि उल्लेख्य प्रगति भएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत एक हजार ८७९ किलोमिटर सडकमा एक हजार ५२९ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । त्यस्तै, १३७ पुलमध्ये ११४ पुल निर्माण सम्पन्न भएका छन् ।

हुलाकी लोकमार्गमा पनि निर्माण कार्यले गति लिएको छ । एक हजार ८५७ किलोमिटर सडक लम्बाइमध्ये एक हजार ३८१ किलोमिटर सडक कालोपत्रे भएको छ भने २५० पुलमध्ये १४३ पुल निर्माण सम्पन्न भएको छ ।

उत्तर–दक्षिण लोकमार्गअन्तर्गत कालीगण्डकी कोरिडोरमा २९२ किलोमिटर सडक कालोपत्रे भएको छ भने ३६ पुल निर्माण सम्पन्न भएका छन् । कर्णाली कोरिडोरमा सम्पूर्ण ट्रयाक निर्माण कार्य सम्पन्न भएको छ भने हालसम्म ४१.५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ ।

कोशी कोरिडोरअन्तर्गत थप १४ किलोमिटर सडक कालोपत्रे तथा ११ पुल निर्माण सम्पन्न भएका छन् । मदन भण्डारी राजमार्गमा ७४० किलोमिटरमध्ये ३९५.५ किलोमिटर सडक कालोपत्रे भएको छ ।

ठूला सडक आयोजनामा नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत ९५.५ किलोमिटर चार लेन सडक निर्माण सम्पन्न भएको छ । मुग्लिन–पोखरा सडकमा ७८.४ किलोमिटर चार लेन सडकमा पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ ।

सुरुङमार्ग निर्माणतर्फ सिद्धबाबा सुरुङमार्गमा मुख्य सुरुङको एक हजार १२६ मिटर कङ्क्रिट लाइनिङको काम सम्पन्न भएको छ । नागढुङ्गा सुरुङमार्गमा टनेल संरचना निर्माण पूरा भइसकेको छ भने प्रकाश, भेन्टिलेसन, अग्नि नियन्त्रण र सूचना प्रणाली जडानसम्बन्धी काम पनि सम्पन्न भएको छ ।

काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा निर्माणाधीन सातवटै सुरुङको काम जारी रहेको छ । यस आयोजनाअन्तर्गत पुल निर्माणतर्फ पनि विभिन्न चरणका संरचना निर्माण भइरहेको आर्थिक सर्वेक्षणले जनाएको छ ।

यद्यपि, पूर्वाधार निर्माणको विस्तारसँगै सडकको गुणस्तर, समयमै सम्पन्न हुने अवस्था, सडक सुरक्षा तथा दीर्घकालीन दिगोपनामा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

प्रकाशित मिति : May 27, 2026 at 4:08 pm