१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छः गृहमन्त्री लेखक

८ भदौ, काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले द्वन्द्वरहित समाज केबल काल्पनिक विषय मात्रै भएको बताउनुभएको छ । यहाँ आज आयोजित नेपालमा शान्ति निर्माणका चुनौती विषय कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले द्वन्द्वसँगै समाधान पनि हुने गरेको धारणा राख्नुभयो । “द्वन्द्वरहित समाज कसैले भन्छ भने त्यो काल्पनिक हो, यथार्थ होइन”, उहाँले भन्नुभयो, “जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ, हामीले द्वन्द्वलाई ठीक ढङ्गले बुझिदिनुपर्छ, द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो ।”

पछिल्लो समय संविधानले गरेको अधिकारको बाँडफाँटले मुलुकमा द्वन्द्व उत्पन्न गराइरहेको सङ्केत पाइरहेको उहाँको भनाइ थियो । “पालिकाहरुबीच अहिले प्राकृतिक स्रोतसाधनको वितरण र सीमाको द्वन्द्व भएको देखिन्छ”, उहाँले भन्नुभयो, “उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वको व्यवस्थापन गरिनुपर्छ ।”

विस्तृत सम्झौताताका वार्ता समितिमा रहँदाका अनुभव सुनाउँदै उहाँले २०६३ मङ्सिर ५ गते सशस्त्र द्वन्द्वको समाप्त भएको बताउनुभयो । “हिंसाको समाजलाई शान्तिको रुपान्तरण गरिएको छ”, उहाँले भन्नुभयो, “द्वन्द्वका प्रकृति संसारभर फरकफरक छन्, द्वन्द्वको प्रकृति फरक छ, सर्वव्यापी छ, समाज रहुञ्जेल द्वन्द्व रहन्छ ।”

उहाँले धेरै विश्वविद्यालय, स्कूल, कलेज, सडक र पुल बनाउने विषय ठीक भए पनि धेरै संविधान बनाउने कुरो खराब रहेको बताउनुभयो ।
“विसं २०७२ को सातौँ संविधान हो, देश कति ज्यादा अस्थिरतामा गयो, कति अनिश्चितता र कति ज्यादा द्वन्द्वबाट गुज्रियो भन्ने आवस्थाको मापन गर्ने कुरा संविधान हो”, उहाँले भन्नुभयो, “नेपाल संसारका विरलैमध्येको त्यस्तो देश हो, जसले सात दशकमा सात संविधान बनायो, संविधान निर्माणको यात्रा २००४ सालदेखि सुरु भएको थियो ।”

प्रकाशित मिति : August 24, 2025 at 4:43 pm